काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका साहित्यकार तथा सञ्चारकर्मी नृपेश उप्रेतीको गजलसंग्रह ‘आगो रहरको’ काठमाडौंमा विमोचन गरिएको छ।
बुधबार (१४ अक्टोबर) काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित विशेष कार्यक्रममा साहित्यकार कृष्णहरि बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेतीलगायतले संयुक्त रूपमा गजलसंग्रह सार्वजनिक गरेका हुन्।
बेलायतको पिटरबरोमा बसोबास गर्दै आएका उप्रेती विदेशमा रहेर पनि नेपाली साहित्य सिर्जनामा निरन्तर क्रियाशील छन्। कार्यक्रममा सहभागी अतिथिहरूले प्रवासमा रहेर नेपाली भाषा, साहित्य र विशेषगरी गजल विधाको विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
कुल १५८ वटा गजल समेटिएको उक्त कृति साहित्यिक दृष्टिले उत्कृष्ट रहेको टिप्पणी गर्दै वक्ताहरूले उप्रेतीको सिर्जनशीलता र गजलप्रतिको लगावको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा बोल्ने साहित्यकारहरूले लेखकले गजलका सिद्धान्त र संरचनालाई पूर्ण रूपमा पालना गर्दै संग्रह तयार पारेको उल्लेख गरे। उनीहरूले ‘आगो रहरको’ विषयवस्तु, भाव र शिल्पका दृष्टिले समेत उत्कृष्ट गजलसंग्रह रहेको धारणा व्यक्त गरे।
प्रवासमा रहेर पनि नेपाली साहित्यप्रतिको निरन्तर समर्पण र सक्रियताका लागि उप्रेतीलाई अतिथिहरूले बधाई तथा आगामी साहित्यिक यात्राका लागि शुभकामना दिएका थिए।






