नेपालका बाढीपीडितको सहयोगार्थ मिन्टोमा सांगीतिक कार्यक्रम, करिब ३ हजार डलर संकलन

सिड्नी । नेपालमा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियाको मिन्टोमा आयोजित ‘स्ट्यान्ड विथ नेपाल’ सांगीतिक तथा कोष संकलन कार्यक्रममार्फत करिब ३ हजार अस्ट्रेलियन डलर संकलन भएको छ। कम्युनिटी भ्वाइस अफ अष्ट्रेलियाको आयोजनामा सोमबार, १२ अक्टोबर २०२६ मा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक पृष्ठभूमिका समुदायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कलाकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

‘Stand with Nepal – A Night of Unity, Music, Compassion & Humanity’ नाम दिइएको कार्यक्रममा नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै राहत सहयोग जुटाइएको थियो।  सोमबार साँझ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले मानवीय सेवाप्रतिको प्रतिबद्धता व्यक्त गर्दै नेपालमा विपद्बाट प्रभावित भएका व्यक्तिहरूलाई सहयोग गर्न हातेमालो गरेका थिए।

कार्यक्रमको अध्यक्षता नेपाली समाजका अगुवा तथा समाजसेवी देव गुरुङले गरेका थिए भने तनिशा अलिजाहले कार्यक्रम सञ्चालन गर्नुका साथै गायन प्रस्तुति पनि दिएकी थिइन्।  नेपाली कलाकार भीमु गुरुङ र गणेश गुरुङ, सहित तनिशा, अलिजाह, झुमुर, रिमा, मिर्जा इम्तियाज बेग प्रिज्मलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। विभिन्न समुदायका कलाकारहरूको सहभागिताले कार्यक्रमलाई बहुसांस्कृतिक र सामुदायिक एकताको स्वरूप दिएको थियो। सहभागीहरूलाई मिन्टोस्थित टङ रेस्टुरेन्टले खानाको व्यवस्थासमेत गरेको थियो।

कार्यक्रममा कम्युनिटी भ्वाइस अफ अष्ट्रेलियाका अध्यक्ष तथा काउन्सिलर मसुद खलिल, संस्थाका सचिव काउन्सिलर खालिद हलाबी र लिभरपुल शाखाकी सचिव स्यदा इशरत फेर्दौसीलगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। त्यसैगरी समाजसेवी सृजना संग्रौला, क्याम्बेलटाउनका डेपुटी मेयर मसुद चौधरी, काउन्सिलर आशिकुर आश रहमान, क्याम्बेलटाउन लायन्स क्लबका सदस्यता निर्देशक जर्ज सेमरानी, आदिवासी समुदायका अगुवा डेभिड बेल र क्रिस पेनलगायत विभिन्न समुदायका प्रतिनिधि तथा सामाजिक अगुवाहरू कार्यक्रममा उपस्थित थिए। एमडी शफिकुल आलम, शादात हुसेन, कमल पाशा, आलमगीर इस्लाम, हाजी मोहम्मद दलोआर, अब्दुल खान रतन, सैयद अक्रम उल्लाह, फैसल आजाद, सैफ चौधरी तथा नाउशिन करिमलगायतले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।कार्यक्रमबाट करिब ३ हजार अस्ट्रेलियन डलर संकलन भएको आयोजकले जनाएको छ। संकलित रकम नेपालका बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रयोग गरिनेछ। अन्तिम संकलित रकम भने पछि सार्वजनिक गरिने जनाइएको छ। खाद्यान्न, आश्रय र औषधिजस्ता आधारभूत आवश्यकताका क्षेत्रमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

कार्यक्रममा सञ्चार क्षेत्र सिड्नी प्रतिदिनका अबु अब्दुल्लाह, एबी टिभीका मसुम बिल्लाह, स्वदेश बार्ताका फैसल आजाद, प्रवासी टिभी अष्ट्रेलिया, विश्व दर्पणका हाजी मोहम्मद दलोआर तथा विदेश बंगलाका मोहम्मद अब्दुल मातिनलगायत सञ्चार प्रतिनिधिहरूले कार्यक्रमलाई समाचारमार्फत समुदायसम्म पुर्‍याउन सहयोग गरेका थिए।कार्यक्रमले नेपालमा आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न अष्ट्रेलियामा रहेका विभिन्न सांस्कृतिक समुदायबीच सहकार्य र मानवीय एकताको सन्देश दिएको छ। आयोजकले कार्यक्रममा सहभागी, सहयोगदाता, कलाकार, स्वयंसेवक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै विपद्को समयमा मानवीय सहयोग र सामुदायिक एकताको महत्त्व उजागर भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *