सिड्नी । अष्ट्रेलियन नागरिकलाई ठगी गरेको आरोपमा दुई नेपाली सिड्नीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् । उनीहरुमाथि पाँचौं र तेस्रो दर्जाका दुइवटा मुद्दामा लगाइएको छ। दुवैलाई पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको र अदालतले जमानतमा नछाडेपछि उनीहरु प्रहरी हिरासतमै रहने भएका छन् । उनीहरुले ८५ वर्षीया अष्ट्रेलियन वृद्धालाई बैकिङ कारोबारमा ठगेको आरोप लागेको छ ।
सिड्नी प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई गत सोमबार ठगीको आरोपमा पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा मुद्दामा लगाइएको अष्ट्रेलियाका विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
ती वृद्धाले आफुलाई बैंकका कर्मचारी हुँ, भन्दै फोन गरिएको र नयाँ एकाउण्ट खोल्नका लागि तीन हजार अष्ट्रेलियन डलर लाग्ने बताएपछि आफ्नो घरमै आएका मानिसहरुलाई सो रकम दिएको बताएकी प्रहरीले जनाएको छ । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो ।






