दोस्रो चार्टर उडानमा सिड्नीबाट १ सय ६० जना नेपाल फर्किदै

तक्दीर अधिकारी, सिड्नी – अस्ट्रेलियाको सिड्नीबाट १ सय ६० जना नेपाली आउँदो बिहीबार अर्थात् जुलाई ३० तारिख नेपाल फर्किदै छन् । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र नेपाली दूतावास क्यान्बेराको समन्वयमा उनीहरु मालिन्दो एयरको चार्टरफ्लाइटमार्फत् नेपाल फर्किन लागेका हुन् ।

एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार दोस्रो लटमा १ सय ६० जना नेपाल फर्किदैछन्, यो पूर्ण चार्टर उडान हो, सिड्नीबाट जुलाइ ३० मा फ्लाइट हुनेछ ।  नेपाली यात्रु बोकेको उक्त विमान इन्डोनेसियाको बाली र मलेसिया हुँदै काठमाडौं पुग्ने छ । उडान जुलाई ३० तारिख साँझ उडाउने प्रयास भइरहेको कोषाध्यक्ष पोखरेलले बताए ।

नेपाल फर्कन तयारी अवस्थामा रहनुभएका यात्रुहरुले पिसिआर रिर्पोट बुझाउने प्रकृयामा हुनुहुन्छ, रिर्पोट लिन दुई तिन दिन समय लाग्छ । पिसिआर नहुनेको उडान हुँदैन, कोषाध्यक्ष पोखरेलले भने, ‘अनुमति प्राप्त भयो भने अगस्टको पहिलो साता तेस्रो उडान पनि हुनेछ । यदि अनुमति प्राप्त भएन भने अगस्टको तेस्रो साताबाट नेपालमा व्यवसायिक उडान नै सुरु हुने भनिएको छ । यदि तेस्रो उडान भएन भने टिकट शुल्क बुझाउनु भएकाहरुको पैसा फिर्ताको प्रकृया अघि बढ्छ ।’

यदि व्यवसायिक उडान पर्खेर बस्नु भएको छ भने पैसा फिर्ताका लागि अनुरोध गर्न सकिने कोषाध्यक्ष पोखरेलले बताए ।

उडानका लागि ७–८ सय जनाले नेपाल फर्किन चासो देखाएका थिए । तीन सयजना चाहिँ नेपाल फर्किने भएका छन् । अझै पाँच सयको हाराहारीमा नेपाली फर्कन इच्छा राख्नेहरु छन्, त्यसमा टिकट शुल्क नै बुझाए बसेकाहरु चाहिँ पाँच सयको हाराहारीमा रहेको कोषाध्यक्ष पोखरेलले बताए ।

एनआरएनए अस्ट्रेलिया र नेपाली दूतावासको समन्वयमा भएको यो दोस्रो उडान हो । दोस्रो उडानपछि पनि टिकटको शुल्क तिरिसकेका अझै १ सय ५० जना नेपाल फर्किन बाँकी रहेको कोषाध्यक्ष पोखरेलले बताए ।