कालोबजारी गर्नेलाई कारबाही हुन्छ– विभाग

काठमाण्डौ, २१ असोज । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पेट्रोलियम पदार्थको कालोबजारी गरिएमा कडा कारबाही गर्ने जनाएको छ ।
नेपाल आयल निगमले मौज्दातमा रहेको इन्धन वितरण गर्दै बजारलाई सामान्य बनाउने प्रयास गरिरहेका बेला त्यसरी वितरण गरिएको पेट्रोलियम पदार्थसमेत कालोबजारी हुन थालेको भनी उजुरी आउन थालेपछि अनुगमनमा कडाइ गर्न लागिएको हो ।
विभागका महानिर्देशक शम्भु कोइरालाका अनुसार अभावको बेला कालोबजारी हुन नदिने उपाय विभागले अपनाएको छ । कोइरालाले भने‘‘राष्ट्रिय एकता देखाउने बेलामा कालोबजारी गरेमा कडा कारबाही गछौँ । प्राप्त इन्धनको अधिकतम सदुपयोग र किफायती गर्न सबैलाई आग्रह गर्दछु ।’’
यस्तै विभागले अत्यावश्यकीय खाद्य पदार्थमा कालोबजारी गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउने र त्यसका लागि सुक्ष्म अध्ययन भइरहेको र स्थानीय प्रशासनसँग मिलेर छापा मारिने उनको भनाइ छ ।
हिन्दूको ठूला महत्वपूर्ण चाड दसै र तिहार नजिकिँदै गएको र भारतले अघोषित नाकाबन्दी जारी राखेको अवस्थामा अत्यावश्यकीय पदार्थको सहज उपलब्धताका लागि बजार अनुगमनलाई विशेष ध्यान दिन लागिएको हो ।
अघोषित नाकाबन्दीको बहाना देखाएर उपलब्ध खाद्य पदार्थ तथा अन्य अत्यावश्यकीय पदार्थ लुकाउने, कालोबजारी गर्ने व्यापारी तथा उद्योगीलाई कानुनको दायरामा ल्याइने महानिर्देशक कोइरालाको भनाइ छ ।
यस्तै भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले भन्सार नाकामा उल्लेख्य चहलपहल नभएको बताए । ‘‘हिजोजस्तै आज पनि भन्सार नाका सामान्य छ, आयातमा त्यस्तो केही उत्साह छैन ।’’ ढुङ्गानाले भने ।
एकाध ट्रक तथा मालबाहक र सवारीसाधन मात्रै मुलुक भित्रिएको विभागले जनाएको छ ।