राजनीति अस्थिरताको कारण अहिलेको निर्वाचन प्रणाली :नेपाल

काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसक्ने र प्रधानमन्त्री अहिले जस्तै चाँडोचाँडो फेरबदल भइरहने बताएका छन् ।
मधेशी पत्रकार संघ र मिडिया फर बोर्डर हार्मोनीले शनिबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता नेपालले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थाले प्रतिनिधिसभामा कुनै दलको पनि वहुमत नआउने बरु दुई तीन सीटे पार्टीको प्रतिनिधित्व भइरहने भन्दै संसद्ममा दुई तीन सीटे पार्टीको अस्तित्व कायम रहेसम्म राजनीतिक स्थिरता कायम हुन नसक्ने बताए ।
उनले संविधानमा गरिएको निर्वाचन प्रणालीको व्यवस्थाले प्रधानमन्त्रीले दुई तीन सीटे पार्टीसँग सम्झौता गर्नुपर्ने अवस्था उत्पन्न हुने र त्यस्तो अवस्थामा मुलुकको समृद्धि सम्भव नहुने बताउनुभयो । उहाँले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभाका सदस्य प्रत्यक्ष निर्वाचित प्रणालीबाट मात्र चुनिने व्यवस्था गरिनुपर्ने बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने पिछडिएको समुदायलाई नीति निर्माण तहमा सहभागी गराउन जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने बताए ।
संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था नगरिएका कारण नै आफूहरुले आन्दोलन गरेको भन्दै आन्दोलन मधेशलाई नेपालबाट अलग्याउनका लागि नभइ मधेशी जनतालाई हक दिलाउनका लागि भएको उनीहरुको भनाई थियो ।
सद्भावना पार्टीका सहअध्यक्ष कर्णले अंगिकृत नागरिकले प्रधानमन्त्री र राष्ट्रपति हुन नपाउने संवैधानिक व्यवस्था संशोधन नगरिए भारतीय युवतीहरुले मधेशी युवाहरुसँग विवाह नै नगर्ने अवस्था आउने बताए ।
कार्यक्रममा भारतको विहारका सांसद् दिनेशचन्द्र ठाकुरले असन्तुष्ट समुदायका माग सम्बोधन गर्न सरकार लचिलो हुनुपर्ने भन्दै मधेशवादी दलहरुले पनि भाइचारा विग्रन दिन नहुने बताए ।