काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो उपचारको लागि सरकारले आर्थिक एवम् प्रशासकिय व्यवस्था गरिदिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
शनिबार अमेरिकामा उपचारका लागि जानुअघि एक विज्ञप्ती जारी गर्दै यादवले भनेका छन्, उपचारका निम्ति आवश्यक आर्थिक एवं प्रशासनिक व्यवस्था गरिदिएकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन्छु । साथै सद्भाव र शुभेच्छा राख्नु हुने सम्पूर्ण देशवासीहरू प्रतिआभार प्रकट गर्दछु ।’
नेपाल तथा भारतका विभिन्न स्वास्थ्य संस्थाहरूमा गराइएको परीक्षणबाट आफूमा प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पाइएको र चिकित्सकको सल्लाअनुसार अमेरिकाको मिचिगन राज्यको डेट्रोइट शहरमा अवस्थित हेनरी फोर्ड अस्पतालमा आगामी असोज १० गते सल्यक्रिया हुने तय भएको विज्ञप्तीमा उल्लेख छ ।
उनले सबै नेपालीको आशीर्वादबाट सोचेभन्दा चाँडो स्वस्थ भई स्वदेश फर्किएर मातृभूमि र नेपाली जनताको सेवामा आफूलाई पुनः समर्पित गर्न सफल हुने विश्वास समेत लिएका छन् ।
सरकारले यादवको उपचारका लागि ६० लाख पेश्कीस्वरुप दिने निर्णय गरेको थियो । उनले भने तीन करोड माग गरेका थिए ।






