होबार्टमा नेपाल महोत्सवको तयारी अन्तिम चरणमा, तास्मानियाका गभर्नर प्रमुख अतिथि

होबार्ट। नेपाली कला, संस्कृति र पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ चिनाउने उद्देश्यले तास्मानियाको राजधानी होबार्टमा आयोजना हुन लागेको नेपाल महोत्सव २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। नोभेम्बर १४ शनिबार सालामान्कास्थित पार्लियामेन्ट लन्समा आयोजना हुने महोत्सवमा १० देखि १२ हजारसम्म दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेका छन्।

एनआरएनए अस्ट्रेलियाअन्तर्गत एससीसी तास्मानियाको आयोजनामा हुन लागेको महोत्सवलाई भव्य र व्यवस्थित बनाउन कार्यक्रम व्यवस्थापन, सुरक्षा, यातायात, स्वयंसेवक परिचालन तथा नेपाली संघसंस्थासँगको समन्वयलाई तीव्र पारिएको आयोजकले जनाएको छ। यस वर्षको महोत्सवमा तास्मानियाका गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूतलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ। त्यसैगरी, तास्मानियाका प्रतिपक्षी दलका नेता जोस विली, ग्रिन्सकी नेता डा. रोजाली वुड्रफ, सरकारका प्रतिनिधि मार्कस भर्मे, हाउस अफ एसेम्ब्लीकी सभामुख ज्याकी पेट्रुस्मा तथा होबार्टका लर्ड मेयर चार्ल्स वुलीलगायत राजनीतिक र सामुदायिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहनेछ।

नेपाली झाँकी र सांस्कृतिक प्रस्तुतिसहित परेड

महोत्सवको औपचारिक गतिविधिअन्तर्गत दिउँसो १२ बजे म्याक्वेरी पोइन्टबाट नेपाली मौलिक भेषभूषा, परम्परागत बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित परेड सुरु हुनेछ। परेडपछि दिउँसो १ बजेदेखि संसद् भवनको प्राङ्गणमा मुख्य सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

महोत्सवमा नेपाली लोक तथा आधुनिक संगीत, विभिन्न जातजातिका मौलिक नृत्य, परम्परागत खानाका परिकार तथा कला र हस्तकलाका प्रदर्शनी रहनेछन्। नेपालका विभिन्न भाषा, जातजाति र सांस्कृतिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्दै विविधताभित्रको एकता झल्काउने आयोजकको लक्ष्य छ।

प्रकाश सपूत, रचना रिमाल र अनिल सिंहको प्रस्तुति

यस वर्षको महोत्सवमा नेपाली संगीत क्षेत्रका चर्चित कलाकार प्रकाश सपूत, रचना रिमाल र अनिल सिंहका साथै हास्य कलाकार बलराम लम्साल ‘बले’ को विशेष प्रस्तुति रहनेछ। उनीहरूसँगै स्थानीय नेपाली गायक–गायिका तथा कलाकारका सांगीतिक र हास्य प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ। महोत्सव राति ९:३० बजेसम्म सञ्चालन हुनेछ।

समुदायको एकता र नयाँ पुस्ताको सहभागितामा जोड

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल महोत्सव विदेशमा नेपाली कला, संस्कृति र पहिचान प्रस्तुत गर्ने साझा मञ्च भएको बताएका छन्। उनले तास्मानियामा मात्र नभई अस्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीलाई समेत महोत्सवमा सहभागी हुन आग्रह गरेका छन्।

कार्यक्रम संयोजक तथा एनआरएनए अस्ट्रेलिया एससीसी तास्मानियाका राज्य संयोजक सुजन वाग्लेले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै नेपाली संघसंस्था, व्यवसायी, युवा र समुदायका अगुवाको सहकार्यमा कार्यक्रम सफल बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार महोत्सवलाई व्यवस्थित बनाउन स्वयंसेवक परिचालन, सामुदायिक सहकार्य र यातायात व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।

त्यस्तै, एनआरएनए तास्मानियाका राज्य युवा संयोजक विष्णु थपलियाले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्न महोत्सव महत्वपूर्ण अवसर हुने बताए। उनले तास्मानियामा रहेका युवालाई स्वयंसेवकका रूपमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

महोत्सवको मुख्य प्रायोजक समिट ५ रियल्टी रहेको छ। संस्थाका रूपेश थापाले नेपाली समुदायको साझा सांस्कृतिक उत्सवमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विकास र सांस्कृतिक गतिविधिमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले सबै नेपालीलाई महोत्सवमा सहभागी हुन आग्रहसमेत गरेका छन्।

होबार्टभन्दा बाहिर बसोबास गर्ने नेपालीको सहभागिता सहज बनाउन आयोजकले लन्चेस्टन, डेभोनपोर्ट र बर्नीबाट महोत्सवस्थलसम्म निःशुल्क आवतजावत सेवा सञ्चालन गर्ने तयारी गरेको छ।नेपाल महोत्सवले तास्मानियामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्नुका साथै अस्ट्रेलियाली तथा अन्य समुदायलाई नेपालको कला, संगीत, संस्कृति र परम्परासँग परिचित गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *