काठमाडौं- मधेसी मोर्चाले पुनर्निर्माण विधेयक अगाडि बढाउन संसद खोले पनि विपक्षी कांग्रेसले रोकेको छ ।
सभामुख ओनसरी घर्तीले बेलुका ७ बजेर ३५ मिनेट जाँदा बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध गरे । दुवै दलबाट विरोध भइरहँदा सभामुखले नियमापत्ति गर्ने कांग्रेस सांसद रमेश लेखकलाई बोल्न समय दिएकी थिइन् ।
लेखकले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको र मधेस लामो समयदेखि आन्दोलनमा रहेका अवस्थामा अघिल्लो बैठकका लागि नै तय भइसकेको संविधान संशोधनको कार्यसूची किन हटाइयो भनी प्रश्न गरे। संविधान संशोधनसम्बन्धी विषय कार्यसूचीबाट हटाइनुपर्नाका कारण सरकारबाट स्पष्ट जानकारी नआएसम्म बैठक चल्न नदिने घोषणा उनले गरे ।
समानुपातिक समावेशी प्रतिनिधित्व र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा कांग्रेसको नेतृत्वमा रहेको सरकारले संविधान संशोधनका लागि दर्ता गराएको विधेयक परिमार्जन गरेर अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच केही दिनअघि सहमति भएको थियो ।
विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयकको प्रतिवेदन व्यवस्थापिका-संसदमा पेस गर्ने कार्यसूची थियो ।






