‘नयाँ संविधान सबैको साझा दस्तावेज’

काठमाडौँ, १८ असार । सहरी विकास मन्त्री डा नारायण खड्काले अब जारी हुने नयाँ संविधान सबैको साझा दस्तावेज हुने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले सो कुरा बताउनुभएको हो ।
मन्त्री खड्काले नयाँ बन्ने संविधान सबै जातजाति, वर्ग, क्षेत्र, धर्म, लिङ्ग, समुदायलाई अपनत्व हुने गरी मस्यौदा तयार गरिएको बताउनुभयो । उहाँले सो मस्यौदा छलफलका चरणमा नै रहेकाले छुटेका महत्वपूर्ण विषय राख्न सकिने जानकारी गराउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खड्काले स्व गिरिजाबाबुले सदैव प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरेको अवगत गराउँदै आगामी नयाँ संविधान पनि पूर्ण प्रेस स्वतन्त्रतामैत्री हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले २००७ सालको क्रान्तिदेखि हालसम्म मुलुक कुन राजनीतिक व्यवस्था उपयुक्त भनेर सधैँ अल्झेको बताउँदै अब बन्ने संविधानले लोकतान्त्रिक शासन प्रणालीको सुनिश्चित गर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले नेपालमा सूचना हकसम्बन्धी कानुन कार्यान्वयनमा स्व कोइरालाले गरेको योगदाको प्रशंसा गर्दै नयाँ संविधान पूर्ण प्रेस स्वतन्त्रमैत्री हुनुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार हरिहर विरहीले सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन भूमिगत पार्टी माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा ल्याएर स्व गिरिजाबाबुले मुलुक र जनताप्रति ठूलो गुन लगाएको बताउनुभयो ।
नेपाल टेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले काँग्रेसले अन्य दलसँगको सहयात्रामा आफ्ना अडानहरु बिर्सेको बताउँदै संविधानको मस्यौदा मजदुरमैत्री नभएको आरोप लगाउनुभयो । अध्यक्ष बद्री सिग्देलले नयाँ बन्ने संविधान पूर्ण प्रेस स्वतन्त्रतामैत्री हुनुपर्ने बताउँदै श्रमजीवी पत्रकारका हकहितमा रहेका कानुन कडाइका साथ लागू गर्न सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ्ग शाह, युनियनका सल्लाहकार तथा पूर्व महासचिव शिव लम्साल, महासङ्घका पूर्व सचिव जगत नेपाल, युनियनका उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, महासङ्घका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिनाले स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्र र प्रेस स्वतन्त्रतामा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।