रौतहट- रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।
बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
एक्कासि प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुग्यास सेल प्रहार गर्नु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुभयो । झडपमा परेर घाइते भएका तीनैजनाको टाउकामा चोट लागेको घाइतेमध्ये दुईजनाको चन्द्रनिगाहपुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ ।
त्यसैगरी प्रहरीतर्फ १० र चारजना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् ।






