तक्दीर अधिकारी
सिड्नी । चर्चित बलिउड अभिनेत्री तथा नेपाली महिला अगुवा मनिषा कोइरालाले महिला सशक्तीकरणको विषय परिवारबाटै शुरु गर्नुपर्नेमा जोड दिएकी छन् । एनआरएनए अष्ट्रेलिया नारी निकुञ्जले आयोजना गरेको राष्ट्रिय महिला सम्मेलनको अवसरमा बोल्दै उनले यदि महिलाहरु माथि उठ्ने हो भने परिवार भित्र बाटै शुरु गर्नुपर्ने जोड दिइन् ।
ममताका खानी महिलाहरुको समुदायमा निकै कम मूल्य दिइएको भन्दै महिलालाई नै टेकेर पुरुषहरु अघि बढेको उनको धारणा छ । कला संस्कृति देखी पुस्तकहरुमा पनि महिलालाई कम महत्व दिइएको बताइन् । बलात्कारको घटनाहरुको विषयमा उनले महिला प्रहरी, महिला कानुन व्यवसायीहरुको संख्या बढ्न सक्ने हो भने यस प्रकारका घटनाहरु कम हुँदै जाने दावी गरिन् । महिलाहरु मल्टी टास्क भएकोले आफुले आफैलाई कमजोर नसोच्न उनले आग्रह गरेकी छन् ।
क्यान्सर विरुद्धको अभियन्ता समेत रहेकी उनले समस्याहरु परिवारबाटै आउने भएको भन्दै समस्याहरु परिवारबाटै कम गर्नुपर्नेमा जोड दिइन् । पुरुषहरु भएको ठाँउमा महिलाहरु पनि पुग्नुपर्ने भन्दै उनले महिला र पुरुष दुवैलाई काममा दिइने तलब पनि बराबर हुनुपर्ने बताइन् ।
भारतीय चलचित्र उद्योगमा लामो समय काम गरेकी अभिनेत्री कोइरालाले आफ्नो परिवारमा कहिल्लै पनि महिला भेदभावको कुरा भोग्नु नपरेको सुनाइन् । नारी निकुञ्ज अष्ट्रेलिया सम्योजक सन्ध्या शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन एसीसीका महिला विभाग संयोजकहरुले गरेका थिए । 
उक्त अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले महिला सशक्तिकरणको विषयमा यस सम्मेलनको आयोजना गरेकोमा सबैलाई धन्यवाद दिदै यसले सोचेको उद्धेश्य पुरा हुनेमा विश्वास व्यक्त गरे । ग्रामिण इलाकामा महिलाहरुले अठार घण्टा सम्म घरको काम गरेको समाजले नदेख्ने भन्दै उनले पुरुषले ८ घण्टा मात्र गरेको कामलाई प्राथमिकता दिने ग्रसित मानसिकता रहेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए । एनआरएनए अध्यक्ष केशव कंडेलले महिला सशक्तिकरणको विषयमा धेरै ठूला ठूला भाषण भइरहेको भएपनि ती कुराहरु व्यवहारमा लागू हुन नसकेको बताए ।
त्यस्तै महिला अधिकारकर्मी बुनु शर्माले नेपाली महिलाहरुमा कानुनको ज्ञान बढ्नुपर्ने बताइन् । अष्ट्रेलियामा ४९ प्रतिशत महिलाहरु कानुनको ज्ञाता रहेको भन्दै उनले यसखालको अवस्था नेपाल लगायतका अविकसीत देशमा नहुनुले पनि महिलाहरु सशक्त हुन नसकेको उनको भनाई छ । कानुनको विषयमा जानकार हुन सक्ने हो भने पनि महिलाहरु उत्पीडन सहेर बस्नुपर्ने अवस्थामा सुधार आउने उनको धारणा छ । नेपालमा २० हजार बराबरको कानुन व्यवसायी मध्ये महिलाको संख्या करिब २ हजार मात्र रहेको भन्दै उनले यो संख्या बढ्नुपर्नेमा जोड दिइन् । जसको लागि महिलाहरुलाई कानुन विषय पढ्नुपर्नेमा उनको जोड रहेको छ ।

त्यसैगरी महिला अगुवा लिली थापाले नेपाली महिलाहरुको क्षेत्रमा भएका नकारात्मक कुरा मात्र नभएर सकारात्मक कुराहरु पनि शेयर गर्नुपर्ने बताइन् । लिच्छ्वीकाल देखी हालसम्म पनि नेपाली महिलाहरु अग्रपंक्तिमा रहेर समाजमा काम गरिरहेको कैयौँ उदाहरण समेत प्रस्तुत गरिन् । भृकुटी, योगमायाहरुको उदाहरण दिदै उनले महिलाहरु आफैले कसरी आफु सशक्त हुने कुरा सोँच्नुपर्ने बताइन् । पछिल्लो समयमा नेपालमा महिलाहरु अगाडी बढीरहेको भन्दै उनले तर नेतृत्व तहमा पनि उनीहरुको उपस्थिती अलिक कम भएको बताइन् ।
एनआरएनए सल्लाहकार शेष घले, आइसीसी उपाध्यक्ष मना केसी, ओसनिया संयोजक होम पाण्डेय, लगायतले बोलेका थिए भने एनआरएनए अष्ट्रेलिया कोषाध्यक्ष अनिल पोख्रेल , महासचिब डा. ज्ञानेन्द्र रेग्मी , प्रबक्ता नन्द गुरुङ, न्यू साउथ वेल्स राज्य परिषद बाणिज्य दूत दीपक खड्का, सम्योजक देब गुरुङ लगायत सहभागी थिए ।
ओसनिया महिला विभागको संयोजक जानकी रिमालले अष्ट्रेलियामा २००९ मा स्थापना भएको नारी निकुञ्जले एक दशकको यात्रा सम्पन्न गरिसकेको भन्दै उनले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद दिइन् । नेपालका कुराकाप्चामा रहेका नेपाली महिलाहरुको सहयोग र हितको निम्ती भन्दै एक् कोष नै खडा गरी काम भइरहेको जानकारी दिइन् ।






