तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपालीहरु बीच भएको ग्याङ फाइटमा गम्भीर घाइते भएका अमित कार्कीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया प्रबक्ता तथा न्यू साउथ वेल्स राज्यपरिषद्का पूर्वसंयोजक नन्द गुरुङले घटनाको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कार्कीको निधन भएको स्पष्ट पारेका छन् ।
न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको हर्सभिलमा रहेको मेरिडेन होटलमा तीन र पाँच जनाको समूहबीच झगडा हुँदा कार्की गम्भीर घाइते भएपछि उनलाई सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै घाइते भएका अर्का एक व्यक्तिको उपचार भइरहेको छ ।
२३ वर्षका अमितको नेपाल घर ललितपुर रहेको बताइन्छ । झगडामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरी कोग्राह प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ।
सामान्य विवादबाट सुरु भएको उक्त झगडामा कार्कीलाई टाउँकोमा गम्भीर चोट लागेको थियो । विवाद के विषयमा सुरु भएको थियो, स्पष्ट भएको छैन । विवाद चकाचर्की भएपछि पपका सुरक्षा गार्डले झगडामा संलग्न समूहलाई तानेर बाहिर निकालेका थिए । केही समयपछि दुई जना घाइते अवस्थामा ढलेपछि प्रहरीले उनीहरुलाई सडक किनारामा फेला पारेको थियो ।






