अस्ट्रेलियामा आज एकै दिन कोरोना संक्रमणबाट १० जनाको मृत्यु

MELBOURNE, AUSTRALIA - APRIL 30: A nurse wearing full PPE takes swabs in the Pacific Epping Shopping Centre where one of the new mobile testing sites is located during COVID 19 on 30 April, 2020 in Melbourne, Australia. (Photo by Speed Media/Icon Sportswire)

सिड्नी । कोरोनाभाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ ।

पछिल्लो मृत्यु समेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन् ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका दश जनाको मृत्यु भएको जानकारी दिए । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण सात जनाको मृत्यु भएको हो ।

अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार छ । तर अस्ट्रेलियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरले सरकारमाथि दबाब बढेको छ । सरकारले मेलबर्नमा गरेको लकडाउन दोस्रो साता पुगिसकेको छ, तर संक्रमितको संख्या अझ बढेको छ ।

शहरमा मास्क अनिवार्य गरिएको छ भने भिक्टोरिया राज्यलाई अस्ट्रेलियाका अन्य शहरबाट अलग गरिएको छ अर्थात् सम्पूर्ण आवतजावत बन्द गरिएको छ । प्रहरी र सेनाले राज्यका सीमाहरुको निगरानी गरिरहेका छन् भने अन्य राज्यबाट आफ्नो घर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको छ ।

तैपनि, आइतबार मात्र भिक्टोरियामा ४५९ नयाँ संक्रमित भेटिएका छन् । शनिबार पनि यहाँ ३५७ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।