अनु लामा
सिड्नी । हिन्दू महिलाहरुको पर्व तीज नजिकिँदै गर्दा धेरै गायक गायिकाले तीज गीत सार्वजनिक गर्ने लहर चलिरहेको छ । कतिपय गीतहरुको प्रस्तुती र शब्दका कारण धेरै गायक(गायिकाहरु निरन्तर विवादमा परिरहेका छन् ।
यसै भीडमा अस्ट्रेलियाको राजधानी क्यानबेरा निवासी सपना देवकोटाको शब्द र लयमा रहेको मौलिक तीज गीत ‘तीजको दर’ अष्ट्रेलियाद्वारा सञ्चालित चारकुने मिडियाबाट सार्वजनिक भएको छ ।
नेपाली मौलिक शब्द अनि लयमा सजिएको तीज गीत ‘तीजको दर’मा माण्डवी त्रिपाठीको स्वर रहेको छ भने संगीत विपिन आचार्यको रहेको छ । गीतको भिडियोलाई दिपेन्द्र भट्टले छायांकन गरेका छन् ।
गीतमा सपना देवकोटा, शिव गिरी, शिलु घिमिरे, एलिसा ढकाल लगायतको अभिनय रहेको छ भने गीतको सम्पूर्ण छायांकन अस्ट्रेलियाको सिड्नीमा गरिएको छ ।






