अन्तराष्ट्रिय महिला दिवसमा नारी निकुञ्ज अष्ट्रेलियाले ‘चूज टू च्यालेन्ज’ गर्दै

तक्दीर अधिकारी
सिड्नी । एनआरएनए अष्ट्रेलिया नारी निकुञ्जले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा च्यारीटि कार्यक्रम गर्ने भएको छ । चूज टू च्यालेन्ज नाम दिइएको उक्त च्यारीटि कार्यक्रम मार्च ६ गते शनिवार साँझ साढे ५ बजेदेखि १० बजेसम्म न्यू साउथ वेल्स ग्रानभेलको १२ गुड स्ट्रिटमा रहेको हिमालयन प्यालेसमा आयोजना गरिएको छ ।

नारी निकुञ्ज अष्ट्रेलियाका सचिव सुकीर्ति भट्टले यसपटकको महिला दिवस महिलाहरुको महिनावारी स्वच्छतामा कन्द्रीत गरिने बताइन् । ‘यस पटक हामीले नेपालमा महिनावारी स्वच्छता र स्वस्थताको सम्बन्धमा काम गरिरहेको प्याड टू गो नामक संस्थालाई आर्थिक सहयोग गर्ने गरी कार्यक्रम गर्न लागेका छौँ, ‘ लण्डन नेपाल न्यूजसँग भट्टले भनिन्, ‘हामीले सकेसम्मको रकम संकलन गरेर उहाँहरुको अभियानमा सोलिडारीटि देखाउने भनेका छौँ ।’

प्याड टू गो नामक संस्था २०१८ सालमा नेपालमा सुभाङ्गी राना र जेसेलिना रानाले स्थापना गरेका थिए । विद्यालयमा महिनावारीको समयमा आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिदिने, स्थायी संघसंस्थासँग समन्वय गर्ने तथा महिलानावारी स्वच्छता र स्वस्थताको सचेतना वृद्धि उनीहरुको अभियान छ । धेरै विद्यालयमा यस संस्थाले अटोमेटिक प्याड भेन्डिङ्ग मेसिन जडान समेत गरिदिएको छ भने भविष्यमा कोही पनि महिलाले महिनावारीको समयमा समस्या भोगको अनुभूति पनि गर्न नपरोस भन्ने उक्त संस्थाको उद्धेश्य छ ।

एनआरएनए नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले सो संस्थाले राखेको मिसन र भिजन पूरा गर्न सहयोग गर्नको निम्ती अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम गर्न लागिएको बताइन् । ‘यो दिन भनेको हामी सबै महिलाहरु जम्मा भएर हाम्रा सफलताहरुको खुशीयाली मनाउने र च्यालेन्जहरु फेस गर्ने तथा भोलीको दिनमा महिलालाई सम्मानजनक स्थानमा पुर्याउने अवसर हो, त्यसैले ‘चूज टू च्यालेन्ज’ कार्यक्रमको मुख्य उद्धेश्य भनेको महिला तथा छात्राहरुको समस्या उजागर गर्नु र समाधानमा सहयोग गर्नु हो । ‘ उनले भनिन् ।

नारी निकुञ्जले हरेक बर्ष अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलासम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ । महिलाको हकहीतका निम्ती बर्षभरी नै आवाज उठाउँदै आएको नारी निकुञ्जले यस पटक आयोजना गरेको सो चूज टू च्यालेन्ज कार्यक्रममा अष्ट्रेलियामा रहेका संघसंस्थासँग समन्वय गर्ने जनाएको छ ।

यसपटक महिलाको हकहीतको निम्ती अथाकपूर्ण काम गर्ने संस्थालाई सहयोग गर्ने उद्धेश्य सहित प्याड टू गोलाई छनौट गरिएको उनले बताइन् । प्याड टू गो संस्थालाई फोर्ब्सले सम्मान समेत गरेको थियो ।