हामी चुनाव विरोधी होइनौं: नेता राई

खोटाङ – सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्न नहुने बताएका छन् ।

स्थानीय तहको पुनःसंरचनाको विषयमा आदिवासी जनजाति, मधेसी लगायतको असहमति रहेको अवस्थामा निर्वाचनको मिति घोषणा गर्दा देश दुर्घटनामा फस्ने उनले दाबी गरे । सङ्घीय समाजवादी फोरम खोटाङले बिहीबार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले निर्वाचनले नेपाली–नेपाली बीचको भिन्नतालाई बढाउने, असहमतिलाई बढाउने, द्वन्द्वलाई बढाउने अवस्था आउनु नहुने बताए ।

“सबै समस्या समाधान गर्ने एउटै उपाय संविधानलाई सुझावसहित संशोधन गर्नुपर्छ”, उनले भने, “हामी चुनाव विरोधी होइनौँ । तर चुनाव सबैको सहभागिताका आधारमा गराउनुपर्छ । जुन दिन संविधान संशोधन हुन्छ, उही दिन चुनावको मिति घोषणा गर्दा हुन्छ ।”