राजा वीरेन्द्रले बसालेको बस्तीका बासिन्दा अझै घरजग्गाको स्वामित्व पाउन वञ्चित

तेह्रथुम, चैत १३ । ४२ वर्षसम्म भोगचलन गर्दा पनि तेह्रथुमको शुक्रबारे बजारका अधिकांश बासिन्दाले घरजग्गाको स्वामित्व प्राप्त गर्न सकेका छैनन् ।

२०३१ सालमा तत्कालिन राजा वीरेन्द्रको आदेशमा बसाइएको तेह्रथुमको शुक्रबारे बजारका अधिकांश बासिन्दाले घर जग्गाको स्वामित्व नपाएका हुन् । साढे चार दशक यता गठन भएका सुकुम्वासी समस्या तथा अव्यवस्थित बसोवास व्यवस्थापन आयोगले ६५ घर जग्गाको लालपूर्जा उपलब्ध गराए पनि बाँकी घरजग्गाको स्वामित्व टुंगो नलाग्दा स्थानीय समस्यामा परेका छन् ।

आङदिम, फाक्चामारा, पञ्चकन्या, ओख्रे, सुदाप र हमरजुङ गाविसको केन्द्रका रुपमा रहेको शुक्रबारेमा बस्ती बसाल्न तत्कालिन जनप्रतिनिधिको निर्णय र अनुरोधपछि पूर्वाञ्चल भ्रमणमा रहेका तत्कालिन राजा वीरेन्द्रको आदेशमा बस्ती विकास थालिएको थियो । तर भोगचलन भएका घर र जग्गाको कानूनी स्रेस्ता नहुँदा बैंकिङलगायत विभिन्न समस्या भोग्नुपरेको स्थानीयले बताए ।

करिब ४ सय ५० घर भएको शुक्रबारे बजारका बासिन्दा कानुनी प्रक्रिया पूरा नगरी आन्तरिकरुपमा घरजग्गाको कारोबार गर्दै आएका छन् ।