काठमाडौं– एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडरे कम्युनिष्ट चरित्र देखाउन आवश्यक रहेको बताएका छन् । कम्युनिष्ट चरित्र देखाउन र जनताको पक्षमा काम गर्न वर्तमान कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने उनले बताए । कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक कुनै हिसावबाट पनि उपयुक्त नभएको भट्टराईको भनाइ छ ।
प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले स्थापना गरेको चन्द्र–गंगा क्रियाशील पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै भट्टराईले माओवादी एमालेप्रति केही आवेगमा भएपनि कम्युनिष्ट पार्टी हो भने एलाइन्स तोड्नुपर्नेमा जोड दिए । कांग्रेससँगको सहकार्य नतोडे माओवादी कम्युनिष्ट नै नरहने भट्टराईको भनाई छ । ‘गठबन्धन जारी रहे माओवादी केही वर्षमा कम्युनिस्ट पार्टी नै रहँदैन,’ उनले भने, ‘एउटाले पूर्व जान खोज्छ, अर्कोले पश्चिम ।’ कांग्रेससँग आफूहरुको सहकार्य हुनै नसक्ने उनले स्पष्ट पारे ।
भट्टराईले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले २ नम्बर प्रदेशका ५० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरे । कांग्रेस ओरालो र एमाले उकालो लाग्ने क्रममा रहेको बताउँदै उहाँले एमालेविरुद्ध सबै एक भएपनि एमाले एक्लै लडेर भएपनि निर्वाचनबाट पहिलो शक्ति भएर उदाउने बताए ।






