बेलायतका काँग्रेसीहरु निष्किृय भदौ २४ देखि अधिवेशन सुरु:

शिव भण्डारी
लन्डन । नेपाली कांगे्रसको गत मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ २४ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । साथै बैठकले क्रियाशील सदस्यहरुको लिस्ट फागुन मसान्तसम्म केन्द्रमा पठाइ सक्ने र केन्द्रमा तोकिएको समयमा क्रियाशील सदस्यहरु नयां बन्ने र नवीकरण गर्ने फरामहरु केन्द्रमा नबुझाउने जिल्लाको महाधिवेशनमा भाग लिन नपाउने निर्णय समेत गरेको छ ।
नेपाली कांगे्रससंग आस्थावान विदेशमा बस्ने नेपालीहरुको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिलाई एक संसदीय निर्वाचन क्षेत्र सरहको अधिकार दिइएको छ । सोही बमोजिम फागुन मसान्तसम्म अर्थात् मार्च १४ तारिखसम्म क्रियाशील सदस्यहरुको नामावली एवंम सदस्यता फराम मान्यताप्राप्त जनसम्पर्क समितिले पार्टीको विधान र नियमावली अनुसार नेपाली कांगे्रसको केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।
कम्तीमा पांच सयभन्दा बढी क्रियाशील सदस्य भएका जनसम्पर्क समितिबाट सात जना महाधिवेशन प्रतिनिधि र तीनजना महासमिति सदस्य छनोट हुन पाउने व्यवस्था छ । यस्तै दुईहजारभन्दा बढी क्रियाशील सदस्य भएका जनसम्पर्क समितिबाट बढीमा चौध जना महाधिवेशन र छ जना महासमिति सदस्य छनोट गर्न पाउने नेपाली कांगे्रसको विधानमा छ ।

अधिवेशनको माहोल बढिरहंदा नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी, यूके) भने हाल विभाजित अवस्थामा छ । पार्टीको १२ औं महाधिवेशनमा पांच सयभन्दा बढी क्रियाशील सदस्य भई सातजना महाधिवेशन र तीनजना महासमिति सदस्यहरुले बेलायतबाट प्रतिनिधि गरेका थिए । एनपीसीसी, यूकेको तेस्रो अधिवेशनमा विवाद उत्पन्न भई अहिले दुईवटा समिति छन् । नेपाली कांगे्रसको केन्द्रीय समितिले दुवै समितिलाई अहिलेसम्म मान्यता दिएको छैन ।
यूरोपमा नै सबैभन्दा बढी सदस्यहरु रहेको एनपीसीसी, यूके अहिले निष्किृय अवस्थामा देखिन्छ । नेपालमा पार्टीको विभिन्न तह एवम् भ्रातृ संगठनमा काम गरेका प्रशस्त निष्ठावान कांगे्रसहरुको बेलायतमा उल्लेखनीय संख्या भए पनि आपसी विवादका कारण मिलेर अधिवेशन गर्न सक्ने तत्काल देखिंदैन । सबैलाई मिलेर अधिवेशन गर्नसक्ने अवस्था नभएको धेरैको विश्लेषण छ। सबैलाई मिलाएर एनपीसीसी, यूके  अगाडि बढाउने नेतृत्वको बेलायतमा खांचो रहेको यहांका कांगे्रसप्रति आस्थावान समुदायले गर्दै आएका छन् । एनपीसी, यूकेमा लामो समयसम्म विवाद रहिरँदा पनि केन्द्रले आवश्यक ध्यान नदिएको र आपसमा मिलेर जान पनि नसकेको कारण अहिले बेलायतका कांगे्रसीहरु अलमलमा देखिन्छन् ।
नेपाली कांगे्रसको विधान अनुसार नेपाली जनसम्पर्क समितिको अधिवेशन पार्टीको महाधिवेशन भन्दा दुई महिना अगाडि गर्न सक्ने प्रावधान छ । एनपीसीसी, यूकेको अधिवेशन साउनको अन्त्य अर्थात् जुलाईसम्म गरे पनि अहिलेको समस्या भनेको क्रियाशील सदस्यहरुको लागि कसले सिफारिस गर्ने भन्ने समस्या मुख्य देखिन्छ । बेलायतका कांगे्रसहरुले यसको बारेमा गम्भीर भएर नसोच्ने र केन्द्रले पनि एनपीसी, यूकेको बारेमा तत्काल कुनै निर्णय नगर्ने हो भने क्रियाशील सदस्य बन्ने र नवीकरण गर्ने म्याद गुज्रर्ने पक्का देखिन्छ । यदि यस्तो अवस्था आएमा एनपीसीसी, यूकेले १३ औं महाधिवेशनमा भाग लिने अवस्थाबाट बन्चित  हुनुपर्ने कुराले बेलायतमा कांगे्रस चिन्तित देखिन थालेका छन् ।