नेपाल-बेलायत सम्बन्धका दुई सय वर्ष : सम्बन्धको नवीकरण आवश्यक

-चन्द्रशेखर अधिकारी

Chandra-Shekhar adhikariबेलायती प्रभाव बिस्तार र उसको सार्वभौमिकताका निम्ति लड्दै आएका नेपालीलाई बेलायतले आरम्भदेखि सालिन तवरले ‘छिर्के’ लगाउँदै आएको छ । नेपालीमाथि विजय हासिल गर्न नसकेको बेलायतले यहाँको प्रगतिमा साथ दिए पनि त्यसबेलाको तुसलाई अझै मार्न सकेको देखिदैन ।

बेलायतलाई उसको भू-भाग फोकल्याण्ड टापु अर्जेन्टिनाबाट फिर्ता दिलाउने होस् वा दुइटा विश्वयुद्धमा बेलायतका लागि रगत बगाउने, नेपालीले बेलायती साम्राज्यका लागि महत्वपूर्ण योगदान दिएका छन् । भारतमै बेलायती शासनका बेला पनि तत्कालीन नेपाली शासकले बेलाती शासकलाई साथ दिएका थिए । १९०६ माघमा नेपालका तत्कालिन प्रधानमन्त्री जंगबहादुर कुँवरले पहिलो बेलायत भ्रमण गरेका थिए । उनी यो क्षेत्रबाट प्रधानमन्त्रीको हैसियतमा बेलायत भ्रमण गर्ने पहिलो ब्यक्ति हुन् ।

नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं १८७३ मा सुगौली सन्धिदेखि बेलायती शासकहरुले नेपाललाई ‘बफर स्टेट’ बनाउने र आफ्नो इशारामा चलाउने प्रयासमा लागेको पुरानो दृष्टान्त छ । बेलायती सेनामा रहेका नेपालीप्रति बेलायतको विभेद लामो समयदेखि आलोचनाको विषय बन्दै आएको छ ।

नेपाल र बेलायतबीचको सम्बन्ध दक्षिण एसियाकै पुरानो र सुदृढ कूटनीतिक सम्बन्ध हो । तर, यतिबेला भने यो सम्बन्ध असहज देखिएको छ । भारतले नेपालमाथि लगाएको नाकाबन्दीमा बेलायतले भारतकै बोलीमा लोली मिलाउँदै संयुक्त विज्ञप्ति जारी गरेपछि यो सम्बन्धको आयाममा झन् ठूलो प्रश्न खडा भएको छ ।

गत बैशाखको विनाशकारी भूकम्पपछि बेलायतले नेपाललाई मानवीय सहायता स्वरुप ७० मिलियन पाउण्ड सहयोगको प्रतिबद्धता गरेको थियो । यसअघि र पछि पनि बेलायतका सहयोग प्रायः ठूला पूर्वाधारभन्दा साना परामर्श र अधिकारको नारामा केन्दि्रत रहने गरेको देखिन्छ ।

नेपाल र बेलायत बीचको २०० वर्षको सम्बन्धलाई स्मरण गर्न बेलायती विदेश मन्त्रालय (एफसीओ) मा समारोहबीच गरिदैछ । एफसीओले कार्यक्रममा सहभागी हुन लन्डनस्थित नेपाली दूतावासमार्फत् बेलायतको नेपाली डायस्पोरालाई आमन्त्रण गरेको छ ।

नेपालले सन् १९३४ मा लन्डनमा दूतावास स्थापना गरेको हो । नेपालको शिक्षा, स्वास्थ्य र विकासमा बेलायतको निरन्तर सहयोग रहेको छ । तत्कालीन समयमा बि्रटिश सेनामा गोर्खालाई भर्ती लिएर बेलायतले गोर्खा र देशको आर्थिक समृद्धिमा ठूलो योगदान गरेको भए पनि त्यो दोहोरो सम्बन्ध थियो ।

भूपरिवेष्ठित नेपालले पाउनु पर्ने अधिकार बारे बहस भइरहेका बेला बेलायतले यो पक्ष लिएन । बरु, नेपालमाथि नाकाबन्दी गर्ने भारतका प्रधानमन्त्रीसँगै कुम जोडेर बेलायती प्रधानमन्त्रीले उनकै भाषा बोले ।

यसअघि पनि नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेर मुद्दा खेपिरहेका छन् । मानवअधिकार हनन सम्वन्धी मुद्दामा उनलाई बेलायत गएको अवस्थामा पक्राउ गरिएको हो । लामो समयदेखि मुद्दा टुंग्याउने भन्दा अनेकन उल्झनमा राखेर अन्यलाई मनोवैज्ञानिक दवावमा बेलायतले राखेको छ । राष्ट्रसंघीय मिसनमा सेनाको तर्फबाट कार्यरत रहेका उनी घरविदाको क्रममा बेलायतमा पक्राउ परेका थिए । युद्ध अपराध मुद्दामा उनीमाथि बेलायतीले गरेको व्यवहार पनि द्वैध प्रकृतिको छ ।

नेपालमा राणा शासनको अन्त्यताका आन्दोलन चर्किरहँदा प्रजातन्त्रको पहरेदार भनिने बेलायतले एकतन्त्री राणाशासनलाई बचाउन २००७ मंसिरमा दिल्लीबाट बेलायती अधिकारीहरु नेपाल पठाएको थियो । २०४५ मा नेपालमाथि नाकाबन्दी लगाउँदा भारतलाई बेलायत नै साथ दिएको थियो । यसपटक पनि बेलायतको साथ नाकाबन्दी पीडित नेपालका पक्षमा होइन, पीडककै पक्षमा देखियो ।

जंगबहादुरको बेलायत भ्रमणपछि नेपाल-बेलायत सम्वन्ध उचाईमा पुगे पनि त्यो शक्ति र स्वार्थमा केन्दि्रत थियो । त्यसपछि अघि बढेको सम्बन्ध बन्दै र बिग्रदै नेपालमा २०७२ बैशाखको महाभूकम्पका बेला चीसो रुपमा सतहमै देखापरेको थियो । भूकम्प पीडितको उद्धार-राहतमा सघाउन बेलायतले पठाएका तीन वटा सीएच-४७ -चिनुक) हेलिकोप्टरले नेपाल प्रवेशको अनुमति पाएनन् । २२ वैशाखमा काठमाडौं आइपुग्ने गरी उडेका ती हेलिकोप्टर भारतको चण्डीगढमै रोकिए । बेलायती दूतावास र दातृ निकायहरूले तीव्र दबाब दिए पनि विमान नेपाल भित्र्याउन सरकार तयार भएन । ‘भूगोल अनुसार उपयुक्त नदेखिएको’ भन्दै तिनलाई अनुमति नदिइएको सरकारले जनायो । बेलायतमा कर्णेल लामाको पक्राउ र बेलायती सेनाका तत्कालीन जनरल साम कोवानको युद्धकालमा माओवादीसँगको साँठगाँठबाट रुष्ट सेनाले बेलायती हेलिकोप्टर ल्याउन नदिएको अनुमान गरियो ।

बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले तत्कालीन समकक्षी सुशील कोइरालालाई पटक-पटक टेलिफोन गरी अनुरोध गरे पनि हेलिकोप्टर अस्वीकार हुँदा बेलायत नेपालसँग चिढिन पुगेको थियो । अमेरिकाका ओस्प्रे नेपाली आकाशमा उड्दा बेलायती हेलिकप्टरलाई पनि केही दिन आउन दिएको भए नेपाल बेलायत सम्बन्धमा यति ठूलो धाँजा फाट्ने थिएन होला ।

त्यसअघि एन्ड्र् जेम्स स्पार्क राजदूतले नेपालको आन्तरिक मामिलामा लेख लेखेर गैरकुटनीतिक काम गरेका थिए । उनको तीव्र आलोचनापछि बेलायतले नै उनलाई राजीनामा दिलायो । त्यसपछि बेलायतले करिब एक बर्ष दूतावास खालि राख्यो । एक महिना अघिमात्र अर्का राजदूत रिचार्ड मोरिसलाई नेपाल पठाएको छ । उनी नेपाल-बेलायत सम्बन्ध सुधार गर्न लागि परेका छन् । नेपालमा पर्यटनका लागि आह्वान गर्ने, भित्तालेखन गर्ने कार्यसमेत बेलायतले गरेर सम्बन्ध सुधारको हात अघि बढाएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय बर्षगाँठको कार्यक्रममा सहभागी हुन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बेलायत पुगेका छन् । विदेश मन्त्रीस्तरबाट निमन्त्रणासँगै विदेश राज्यमन्त्री ह्युगो स्वायरले फोन नै गरेर भ्रमणको आग्रह गरेपछि उनी त्यसतर्फ लागेका हुन् । भारतीय प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा नेपाललाई पनि विषय बनाएपछि नेपालले त्यसमा गम्भीर आपत्ति जनाएको थियो । नेपाली संचारमाध्यममा बेलायत र भारतले यस्तो विषयमा बोलेको भन्दै आलोचना भएपछि परराष्ट्रमन्त्रालयले बेलायत र भारतको उक्त सम्झौतामा नेपाल परेको भन्दै आपत्ति जनाएको थियो । त्यसको दुई दिन पछि बेलायती विदेश राज्यमन्त्रीले टेलिफोन गरेर उपप्रधानमन्त्रीलाई निमन्त्रणा गर्दै त्यो विषयमा खुलस्त पारेका थिए ।

काठमाडौंमै उपलब्ध भिसा सेवा दिल्ली पुर्‍याइनु, दुईपक्षीय उच्चस्तरको भ्रमणमा खासै चासो नदिनुले पनि बेलायत र नेपालको सम्बन्धमा दरार पैदा भएको देखिन्छ । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि मुलुकको राष्ट्रपतिलाई बेलायतले राजकीय भ्रमणमा निम्तो समेत दिएको छैन ।

नेपाल-बेलायत सम्बन्ध एक सय ९८ बर्ष हुँदैमा दुईसय बर्षगाँठ मनाउने उदेकलाग्दो अभ्यास थालेको थियो । आज कै दिन -१८१६ डिसेम्वर १६) मा नेपाल र बेलायतबीच सुगौलि सन्धी भएको अर्थात नेपालले आफ्नो भूभाग समेत गुमाएको दिन हो । त्यो सन्धी तीन महिनापछि मार्च ४, १८१७ मा बेलायत र नेपालबाट स्विकृत भएको थियो । तर, नेपालले त्यसपछि त्यो सन्धीलाई भूभाग गुमाएको दिनका रुपमा भने स्मरण गर्ने गरेको छैन ।

बेलायती युवराज विलियम अर्थर फिलिप लुइस -विलियम)ले सपत्नी नेपालको भ्रमण गर्ने इच्छा राखेका भए पनि नेपाल सरकार भ्रमणको तयारीमा जुट्न नसकेपछि त्यो प्रसंग नै सेलाएको छ । बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल-बेलायत कूटनीतिक सम्बन्धको दुई सय बर्षगाँठको अवसरमा पुरानो मित्र मुलुक नेपाल आउने इच्छा देखाएका थिए ।

दुई सय बर्षगाँठको आरम्भमा दुईपक्षीय उच्चस्तरीय भ्रमण हुने भनिएको थियो । तर, त्यो राजनीतिक भ्रमण नहुने प्रायः निश्चित भएको हुँदा बेलायती राजपरिवारको भ्रमणले पुरानो सम्बन्ध उचाईमा पुर्‍याउने परराष्ट्रका अर्का अधिकारीले बताए । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले दुई सय वर्षको विशेष सम्बन्धको अवसर पारेर नेपाल भ्रमण गर्न इच्छा राखेको भए पनि त्यो गफमा सीमित भएको छ । क्यामरुनले केही महिनाअघि नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका सभापति सर जोन स्ट्यान्लीलाई लिखित रुपमै नेपाल भ्रमणको इच्छा र सम्भावना व्यक्त गरेका थिए ।

बेलायती महारानी एलिजावेथ द्धितियाले परिवारसहित दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । सन् १९६१ र १९८६ मा उनी नेपाल आएकी थिइन् । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमामा सहभागी हुन सन् १९७५ मा युवराज चाल्र्स नेपालमा आएका थिए । उनी सन् १९८० र १९९८ मा पनि नेपाल आए । उनले नेपालको विभिन्न जिल्ला घुम्दै बेलायती सहयोगका निर्माण भएका परियोजनाहरुको अवलोकन गरे ।

त्यसअघि सन १९९३ मा राजकुमारी डायनाले पाँच दिने नेपाल भ्रमण गरेकी थिइन् । यहीस्तरको सम्बन्ध निरन्तरता दिन दुवै मुलुक बढी सचेत देखिए पनि अन्तत सम्बन्ध ओरालो लागेको छ । यसलाई सुधार गरेर लैजान आवश्यक छ । -कान्तिपुरबाट