अन्तराष्ट्रिय समुदायले दलहरुबीच फाटो ल्याए : पौडेल

काठमाडौं २ माघ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले हालै नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई लक्षित गर्दै अन्तराष्ट्रिय समुदायले दलहरुबीच फाटो ल्याएको आरोप लगाएका छन् ।

सम्वाद समितिको प्रतिवेदनमाथि शुक्रबार संविधानसभामा भएको छलफलमा भाग लिँदै पौडेलले भने-‘अन्तराष्ट्रिय समुदाय पनि संख्याको बलमा गर्नु हुँदैन भनेर किन आउँछन् ? यसले नमिल्नका लागि प्रोत्साहन भएको छ ।’

हालै मात्र नेपाल आएका राष्ट्रसंघका उपमहासचिवले दलहरुलाई भेटेर कसैले पनि सविधानसभा बहिस्कार गर्ने वातावरण नबनाउन आग्रह गरेका थिए । पौडेलले राष्ट्रसंघका प्रतिनिधिलाई संकेत गर्दै आफ्नेा असन्तुष्टि संविधानसभामा पोखेका हुन् ।

अब मस्यौदामा पठाउँ

कांग्रेस उपसभापति पौडेेलले अब सहमतिका नाममा संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए । आफूहरु पनि सहमतिकै पक्षमा रहेको भन्दै उनले भने-‘सहमतिको बल्छीमा मुलुक नराम्रोसँग अझिएको छ, अब कहिलेसम्म अल्झाइराख्ने ?’

नेता पौडेलले सहमतिको प्रयास जारी राख्दै सम्वाद समितिबाट आएको आफूहरुको ९ बुँदे र अन्य दलहरुको प्रस्तावलाई मस्यौदा समितिमा पठाउनुपर्ने बताए । उनले सडक आन्दोलन र बन्दको भरमा संविधानसभालाई डिक्टेट गर्न नहुने बताए ।