काठमाडौं- कांग्रेसको २९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् ।
देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा राखेको शीर्ष नेताहरूको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कुन पक्षले समेट्ने भन्नेमा भने बैठकमा विवाद भएको थियो । त्यसपछि सिटौला बैठकबाट बाहिरिएका थिए ।
आफूलाई अपमान गरिएकाले बैठकमा नबसेको उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले सिटौला पूर्णरूपमा आफ्नो समूहमा नरहेकाले चालीस प्रतिशतभित्र नपर्ने बताएका थिए । देउवा निकटका केही सदस्यले संस्थापन इतरपक्षको एउटै बैठकमा बस्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनमा संयुक्त मोर्चाबन्दी गर्ने भएकाले चालीस प्रतिशतमा पर्नु हुन्न भन्न नपाइने भनेपछि दुवै पक्षका नेताहरूबीच केहीबेर सवालजवाफ भएको थियो । देउवा अन्तिममा सिटौलालाई आफ्नै कोटाबाट समावेश गर्न तयार भएका थिए ।
सहमतिअनुसार २९ सदस्यमा पदाधिकारीसहित ११ सदस्य पौडेल पक्षले पाउनेछ । विधानअनुसार पदाधिकारी स्वतः सदस्य हुन्छन् । त्यसबाहेक सभापतिले २२ सदस्य मनोनयन गर्न पाउनेछन् । २२ मध्ये वरिष्ठ नेता, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवबाहेक ८ जनाको नाम दिन पौडेललाई देउवाले आग्रह गरेका छन् ।






