सिड्नी। अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपाली समुदाय विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। नेपाली समुदायले आफ्नै समुदाय मात्र होइन, अष्ट्रेलियाको समग्र समाजका लागि पनि सहयोग पुर्याउँदै आएको सन्दर्भमा सिड्नीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
नेप्लिज ब्लड डोनर्स एसोसिएसन (NBDA) को आयोजना तथा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया (RSNA) र फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अष्ट्रेलिया (FeNcAA) न्यू साउथ वेल्सको सहकार्यमा ११ अप्रिल शनिबार सिड्नी टाउनहलस्थित लाइफब्लड सेन्टरमा विशेष कार्यक्रमबीच रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ६ जनाले प्लाज्मा दान गरेका छन् भने १३ जनाले होल ब्लड दान गरेका थिए।
प्लाज्मा दान गर्नेहरूमा सबिना बस्याल, प्रकाश पन्थी, प्रसन्न दाहाल, सञ्जय श्रेष्ठ, रमेश सापकोटा र केड्जिल डिमाकुलाङ्गान रहेका छन्। त्यस्तै होल ब्लड दान गर्नेहरूमा शंकरप्रसाद शर्मा, रास्ना पालाञ्चोके, आश्मा ढुङ्गाना, योगेश पराजुली, उत्सव अर्याल, गणेश पन्थ, लक्ष्मणकुमार कार्की, मनकास पिया, भुषण डंगोल, प्रकाश लामिछाने, सरोज पाठक, जमुना रोक्का र प्रदीप खनाल रहेका छन्।
NBDA अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रसन्न दाहालले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दै कार्यक्रम सञ्चालन गरेका थिए भने सदस्य रास्ना पालाञ्चोकेले स्वागत मन्तव्य राखेकी थिइन्।अध्यक्ष पोखरेलले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी सबैलाई धन्यवाद दिँदै अष्ट्रेलियामा हुने रगतको अभाव न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए। उनले इच्छुक व्यक्तिहरूलाई नजिकको ब्लड सेन्टरमा गई नियमित रूपमा रक्तदान गर्न पनि आग्रह गरेका थिए।
कार्यक्रममा लुक्ला टिभी अष्ट्रेलियाका सम्पादक तथा NBDA का सल्लाहकार प्रोफेसर डा. राजु मानन्धर, सल्लाहकार भुवन पाण्डे, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष तथा NBDA का संरक्षक रञ्जिता भण्डारी, नेपाल चेम्बर अफ कमर्स अष्ट्रेलियाका प्रतिनिधि सन्देश राजभण्डारी, डिजी स्कुल अष्ट्रेलियाका प्रमोटर मनकास पिया लगायतका अतिथिहरूले आफ्नो धारणा व्यक्त गरेका थिए।वक्ताहरूले “रक्तदान जीवनदान” जस्तो पुण्य कार्यमार्फत मानव जीवन बचाउन योगदान पुर्याएको भन्दै तीनवटै संस्थाको पहलको प्रशंसा गरेका थिए। साथै यस्ता कार्यक्रमहरू अन्य संघसंस्थाले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आपसी सहकार्य र समन्वयमार्फत मानवहितका कार्यहरू अझ प्रभावकारी बनाउनुपर्ने बताएका थिए।कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।






