सुदुरपश्चिम समाज अस्ट्रेलियाले गौरा पर्व मनाउँदै

सिड्नी । सुदुरपश्चिम समाज अस्ट्रेलियाले गौरा पर्व धुमधामका साथ मनाउने भएको छ ।

नेपालको सुदुरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्व अस्ट्रेलियामा रहेका सुदरपश्चिम र मध्यपश्चिमेलीहरुले धुमधामका साथ मनाउन लागेका हुन् ।

समाजले यही सेप्टेम्बर ३ तारिखमा सिड्नीको अलवा पार्कमा गौरा पर्व मनाउन लागेको समाजका अध्यक्ष मोहन  भट्टले जानकारी दिए । उक्त अवसरमा धार्मिक अनुष्ठान, पूजाआजाका साथ साथै देउडा गीत र बालबालिकाहरुका लागि खेलकुदका विभिन्न रमाईलो कार्यक्रम सहित मनाउन लागिएको उनले बताए ।

समाजले कन्सर्ट भन्दा पनि मौलिक रुपमा नेपालकै संस्कार र संस्कृति तथा गौराको विधि बमोजिम पुजाआजा सहित गौरा पर्व मनाउने तैयारी गरेको हो । १२ बजेबाट गौराको पुजाआजा सुरु गर्ने तथा त्यसपश्चात नेपालबाट आएका चर्चित देउडा गायकहरुको देउडा गीत सगैं अन्य रमाईलो कार्यक्रम हुने गौरा पर्व कार्यक्रम सयोंजक महादेव पन्तले जानकारी दिए ।

कार्यक्रममा स्थानीय सांसद सहित एनआरएनएका पदाधिकारी तथा अस्ट्रेलियामा रहेका नेपाली समुदाय र अन्य समुदायका व्यक्तिहरुको समेत उपस्थिति रहने समाजले जनाएको छ । पुराना पुस्ताले मनाउँदै आएको विधि र पद्धती बमोजिम आफ्नो मौलिक संस्कारलाई नयाँ पुस्तामा समेत हस्तान्तरण गर्न पर्व मनाउन लागिएको पन्तले बताए । कार्यक्रममा उत्कृष्ट कलाकारहरु सुदुरका कलाकर्मिहरुका अभिभावक लोकप्रिय  देउडा गायक नरेन्द्र राज रेग्मी र केही समय अघी मात्र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यु बाट विशेष योगदान राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरेकी लोकप्रिय देउडा गायिका लक्ष्मी आचार्यको प्रस्तुती रहनेछ ।

के हो गौरा पर्व,कसरी मनाईन्छ ?

गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ ।

गौरा पर्वको पहिलो दिन घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ।