सिडनी । नेकपा एमालेको प्रवास स्थित भातृसंस्था प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको पाँचौं राष्ट्रिय अधिवेशन अगष्ट २७ र २८ तारिखमा हुने भएको छ ।
सिड्नीको अबनमा रहेको “सफायर फङ्सन सेन्टर” मा हुने मञ्चको पाँचौ अधिवेशनलाई नेकपा एमाले स्थायी समिति सदस्य एव विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नेछन् । अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
अगस्ट २७ तारिख बिहान १० बजेदेखि-दिनको ३ बजेसम्म उद्घाटन समारोहको कार्यक्रम हुने र बेलुकी ६ बजेदेखि बन्द सत्रको कार्यक्रम रहने छ। त्यस्तै २८ तारिख बिहान ११ बजे घोषणा सभा तथा पत्रकार सम्मेलन गर्दै अधिवेशन सम्पन्न हुनेछ ।
कार्यक्रममा विशेष अतिथिको रुपमा न्यू साउथ वेल्स राज्य सरकारका विपक्षी दलका नेता कृसमिन, प्रवासी नेपाली मन्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ लगायत अन्तराष्ट्रिय कमिटिका पदाधिकारीहरु मन्चका अन्तर्राष्ट्रिय सल्लाहकार समितिका अध्यक्ष सञ्जय थापा, अष्ट्रेलियाकालागि नेपाली राजदुत कैलाश पोखरेल, न्यू साउथ वेल्स महा वाणिज्यदूत दिपक खड्का, भिक्टोरिया राज्यका महावाणिज्यदूत चन्द्र योन्जन,साउथ अष्ट्रेलियाका महा बणिज्यदुत दिपक धमालाका साथै न्युजिल्यान्डका नेपाली महावाणिज्यदूत आत्माराम खनाल र दिनेश खड्का लगायतको उपस्थिति रहने प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका प्रबक्ता सन्तोष दाहाल द्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्टेट कमिटीका पदाधिकारीहरु नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरु सहित अस्ट्रेलियामा रहेका राज्य समितिहरुको प्रतिनिधित्व गर्दै करिब ३०० प्रतिनिधि र १०० परिवेक्षकको उपस्थिति रहनेछ ।






