नेपाली समुदायको सहयोग बिना केही गर्न सकिदैन : दिपक खड्का, महावाणिज्यदूत एनएसडब्लु राज्य, अस्ट्रेलिया

सिड्नी । नेपाल सरकारले दिपक खड्कालाई चार वर्षका लागि न्यू साउथ वेल्स राज्यका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । यो उनको चौथो कार्यकाल हो । उनीभन्दा अघि एकजना अस्ट्रेलियन नागरिकले झन्डै २२ वर्ष यो पदमा बसेर काम गरिन् । त्यसबेला न्यू साउथ वेल्स राज्यमा नेपाल महावाणिज्यदूत पनि छ भन्ने कुरा धेरैलाई थाहै थिएन । यसलाई आकर्षक पद बनाउन खड्काले धेरै मेहनत गरेका थिए । प्रत्येक वर्ष नेपालमा ३० प्रतिशतले पर्यटक वृद्धि यसको ज्वालन्त उदाहरण हो । महावाणिज्य पद के हो ? विदेशमा महावाणिज्यदूत किन चाहिन्छ र उसको दायित्व के हुन्छ भन्ने जिज्ञासामा  लन्डन नेपाल न्यूज लागि तक्दीर अधिकारी सँग कुरा गर्दै महावाणिज्यदूत दिपक खड्का ;

० महावाणिज्यदूतका लागि कस्तो व्यक्ति योग्य हुन्छन ?
– अनरी काउन्सिलर हुनका लागि चाहिँ अस्ट्रेलियाकै नागरिक हुनुपर्छ भन्ने छैन, तर स्थायी बसोबासको अनुमतिप्राप्त भएको व्यक्ति अनिवार्य हुन्छ ।

० तपाईंलाई चौथो पटक महावाणिज्यदूत बन्नुभयो । न्यू साउथ वेल्स राज्यमा तपाई बराबरको योग्य व्यक्ति अरु छैनन् ?
– किन नहुनु धेरै जना हुनुहुन्छन्, सबै योग्य हुनुहुन्छ । सबैजना योग्य हुनुभएकाले नै मलाई यो पदमा निरन्तरता दिन सहयोग गर्नुभयो । महावाणिज्य दूत बन्नका लागि मलाई नेपाली समुदायले नै सहयोग गरिराख्नुभएको छ । यस्तो विवादमा विवाद गरिराख्नु हुँदैन । मुख्य कुरो समय दिनसक्नुपर्छ । नेपाली दूतावासको सिफारिसमा परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त पाइने मानार्थ पद हो यो ।

० नेपाली दूतावासले के आधारमा सिफारिस गर्छ ?
– यो कुनै राजनीतिक पद होइन, कुनै स्वार्थ बाजिएको हुनु भएन । विशेषतः नेपाली समाजमा उसले देखाएको सक्रियतालाई आधार मानिन्छ । मभन्दा अघि एकजना अस्ट्रेलियन क्रिस्टिनी हुनुहुन्थ्यो, उहाँले २२ वर्ष काम गर्नुभएको थियो । त्यसबेला एनएसडब्लु राज्यमा हाम्रो कन्सुलेट छ कि छैन भन्ने कुरा कमैलाई थाहा थियो । म आएर काम गर्न थालेपछि कन्सुलेटको गरिमा बढेको हो । कन्सुलेट भएर मैले समुदायबाट जुन सम्मान पाएँ, त्यसले गर्दा यो पदको गरिमा बढेकै हो भन्ने कुरा पुष्टि हुन्छ ।

० महावाणिज्यदूतको मुख्य काम के हुन्छ ?
– मुख्य कुरा राज्यमा देशको प्रतिनिधित्व गर्ने हो । कतिपय स्थानमा नेपालीहरु हुँदैनन, जस्तो संघाइको कुरा गर्नुभयो भने त्यहाँ थोरै नेपाली छन्, तर त्यहाँ पनि महावाणिज्यदूत राखिएको छ । यस्ता पद संसारको विभिन्न स्थानमा राखिएको हुन्छ । मुख्य काम देशको प्रतिनिधित्व गर्ने हो । त्यसपछि देशमा लगानी भित्र्याउनका लागि प्रवद्र्धनात्मक काम गर्ने हो । यो प्रवद्र्धृनका पनि विभिन्न पाटाहरु हुन्छन् । जहाँ माछा छ त्यहाँ बल्छी हान्ने हो । आफ्नो देशको गर्वसाथ अरु समुदायमा प्रवद्र्धन गर्ने हो । सिड्नीमा नेपाली समुदाय ठूलो छ । विभिन्न काम हामी विचार विमर्श गरेर गछौं ।

० नेपाल भ्रमण जानेलाई भिसा दिने अधिकार काउन्सिलरले राख्छ ?
– राख्छ, महावाणिज्यदूतबाट लिए पनि हुन्छ अनअराइबल भिसा लिन पनि सकिन्छ ।

० भिसा दिनुहुन्छ भने शुल्क पनि लिनुहुन्छ होला नि ?
– हो, हामी सरकारले निर्धारण गरेको शुल्क लिन्छौं । महावाणिज्यदूतले मन लागी शुल्क लिन पाउँदैन ।

० काउन्सिलरले दिने र अनअराइलबल भिसा शुल्कमा फरक हुन्छ ?
– फरक हुनसक्छ, किनभने यहाँ निश्चित सीमित भिसा मात्र जारी गर्न पाइन्छ । अनअराइबलमा प्रत्येक दिन परिवर्तन हुने करेन्सी अनुसार शुल्क लिइन्छ ।

० काउन्सिलसँग किन भिसा लिने ?
अनअराइबलमा जस्तो पर्खेर बस्नु पर्दैन । काउन्सिलरसँग भिसा लिएपछि कुनै झन्झट हुँदैन, सरासर गन्तव्यसम्म जान सकिन्छ, एकप्रकारले ढुक्कजस्तै हुन्छ । यद्यपि यो बाध्यकारी व्यवस्था होइन । काउन्सिलरसँगै भिसा लिनुपर्छ भन्ने हुँदैन, व्यक्तिगत इच्छाको कुरा हो ।

० यति वर्ष काउन्सुल बन्नुभयो ? नेपाल र नेपालीले सम्झनालायक के काम भए ?
– हामी हरेक वर्ष नेपाल प्रवद्र्धन गर्छौ । पहिला जुन अवस्था थियो, त्यो स्थिति अहिले छैन । प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनमा ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले उपलब्ध गराएको सुविधाले नै यो सम्भव भएको हो । कसैले लगानी गर्नुभन्दा अघि धेरै कुरा सोचेका हुन्छन् । लगानीको प्रतिफल यहाँभन्दा हामीकहाँ राम्रो होला, तर कहिलेकाहिँ प्रवद्र्धन अभावले हामी पछि परिरहेका हुन्छौं । लगानीकर्ताले हेर्ने कुरा धेरै हुन्छन् । नेपाल भनेको पर्यटकका लागि आकर्षक देश हो, हामीले प्रवद्र्धन गर्नेपर्ने पनि पर्यटन नै हो ।

० अब कति चलाउनु हुन्छ महावाणिज्यदूत ?
– चार वर्षका लागि नेपाल सरकारले मलाई नियुक्ति दिएको छ । परिस्थिति बद्लिन भने पुनः निरन्तरता दिन सकिन्छ । त्यसपछि के हुन्छ थाहा छैन ।
० यो कार्यकालमा नेपालीले के आशा गर्न सक्छन् ?
– मैले जे गरिरहेको छु, त्यही गर्ने हो । त्योभन्दा घटी पक्कै गर्दिन्, बढी नै गर्ने प्रयत्न रहने छ । मानार्थ पद भएकाले सीमित अधिकार मात्र हुन्छ, स्रोत र साधन सीमित हुन्छ । त्यसकारण म चमत्कार गर्छु भन्न सक्दिनँ, तर जे गर्छु विगतभन्दा बढी र राम्रो गर्ने प्रयत्न रहनेछ । नेपाल र यहाँको नेपाली समुदायसँग साझेदारी गरेर पर्यटन प्रवद्र्धनको काम गर्नेछु । मलाई नेपाली समुदायको सहयोग त्यत्तिकै जरुरी छ ।

० भिजिट नेपाल २०२० को प्रवद्र्धन कार्यक्रमलाई कसरी सम्झनु हुन्छ ?
– हेर्नुस् पाठ हरेक दिन सिकिन्छ । अहिले तपाईंसँग कुरा गर्दा पनि मैले पाठ सिकिरहेको छु । भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रमको समाचार जुन हिसाबले बाहिर आयो, त्यसमा सत्यता थिएन । पहिलो कुरो योजना तय गर्न हामीलाई समयको पावन्दी थियो, जनवरी ७ तारिखमा गर्नुपर्ने हामी बाध्य थियौं । क्रिश्चिमस र नयाँ वर्षको समयमा विभिन्न सरकारी पदाधिकारीलगायत ठूलो संख्यामा विदेशीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । त्यो भनेकै कार्यक्रम सफल हो । त्यो बेलामा मान्छे जम्मा गर्न हामीलाई कठिन थियो । धेरै मानिसहरु विदामा थिए । तर हामीले सम्मानजनक उपस्थितिमा कार्यक्रम सम्पन्न गरेका थियौं ।

० मार्चपास विवादित भएको होइन र ?
– मार्च गर्नेमा राज्यका सभामुख आफै हुनुहुन्थ्यो, वास्तवमा त्यो मार्च थिएन, समाचारमा आएजस्तो प्रहरीको अवरोध गरेका कुरा सबै गलत हो । ओपेरा हाउसमा ठूलो समूह गएको देखेपछि त्यता नजाऊ मात्र भनेका थिए, हामी त्यता गएनौं । हामीले सबै आधिकारिक निकायबाट स्वीकृति लिएर नै कार्यक्रम गरिएको थियो । मिडियामा चलाइएको विवादमात्र हो, वास्तवमा त्यहाँ कुनै विवाद थिएन ।