१० साउन, वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्जमा अनिश्चितककाल सम्मको लागि कर्फ्यु जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । साथै वीरगञ्जमा अन्य जिल्लाबाट विशेषगरी भारतबाट आउन पूर्णप्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।
‘भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’






