तक्दीर अधिकारी
सिड्नी । संविधान दिवसको अवसरमा नेपाली दूतावास अस्ट्रेलियाले हिजो बुधवार चियापान कार्यक्रम आयोजना ग¥यो । विदेशस्थित मिसनहरुले आफ्नो अनुकूल समयमा संविधान दिवस मनाउने परराष्ट्र मन्त्रालयको सर्कुलरअनुसार नेपाली दूतावास अस्ट्रेलियाले हिजो बुधबार संविधान दिवस मनाएको हो ।

नेपाली दूतावासकी चार्ज दि एफियर्स द्रौपदा सापकोटाले कार्यक्रममा सहभागीलाई स्वागत गरेकी थिइन् । उनले नेपालको संविधान दिवसबारे भनाइ राखेपछि चियापान सुरु भएको थियो ।

कार्यक्रममा नेपालको कूटनीतिक सम्बन्ध स्थापित रहेका मुलुकका राजदूतहरुलाई आमन्त्रण गरिएको थियो । यसैगरी अस्ट्रेलिया सरकारको कूटनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तित्व, सांसद र स्थानीय पदाधिकारीलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो । मित्रराष्ट्रका कूटनीतिक क्षेत्रका प्रमुख तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

झन्डै दुई घन्टासम्म चलेको चियापान कार्यक्रममा नेपाली समाजका अगुवा, भिक्टोरियाबाट महावाणिज्यदूत, गैरआवासीय नेपाली संघका अध्यक्ष केशव कडेल, उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्यपरिषद्का संयोजक देव गुरुङ, पूर्वसंयोजक नन्द गुरुङ, महासचिव डा.ज्ञानेन्द्र रेग्मी, नारी निकुञ्जका पदाधिकारी र सञ्चारकर्मीलगायत पदाधिकारीको कार्यक्रममा सहभागिता थियो ।







