शिब भण्डारी
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । मतगणना प्रक्रिया बिहीबार रात भरि जारी रह्यो। अहिले सम्म झन्डै ५ हजार मत गणना भै सकेको र निर्वाचन समितिले अब केहि बेरमा अपडेट दिने जनाएको छ ।अल्डर्सटको बुथको अहिले गणना भइरहेको छ । ह्यारो र बेजिङ्स्टोकका बाकस अझै खोलिएको छैन । खसेको कुल ९ हजार २ सय ५३ मतमध्ये झन्डै आधा मत गणना हुन बाँकी नै छ। निर्वाचन समितिबाट अफिसियल अपडेट आउन बाँकी छ ।
प्रारम्भिक गणनामा अध्यक्षका प्रत्यासी शेर सुनारको अग्रता रहेको अनौपचारिक जानकारी प्राप्त भएको छ । तर, सुनारलाई प्रत्यासी पुनम गुरुङले पछ्याइरहेकी छन् । दुई समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । महासचिवमा भने फडिन्द्र भट्टराई अगाडि छन्। उपाध्यक्षमा प्रेम गाहामगर र पशुपति पोखरेलको अग्रता छ ।अरु पदमा पनि दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
१३ मतदान केन्द्र मध्य ६ वटाको मात्र मतगणना सुरु भएको समितिले जनाएको छ । गत १४ सेप्टेम्बर शनिबार भएको मतदानमा कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) खसेको थियो । यसपटक १३ हजार ६२९ मतदाता योग्य थिए । निर्वाचन समितिले अर्काे अपडेट २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र शतप्रति मत गनेपछि दिने जनाएको छ ।
उम्मेदवारहरु नतिजाको प्रतिक्षामा हल वरपर छन् । कसले जित्ला भनेर उम्मेदवार वा सम्वन्धित टिम मात्र होइन, धेरैको चासो देखिएको छ । सम्वन्धित कार्यकर्ता र शुभेच्छुकहरु त्यो भन्दा कम तनावमा छैनन् । ठाँउठाँउमा बसेर मतको आकंलन र हिसाव गर्दै बसिरहेको भेटिन्छ ।






