काठमाडौँ, २२ माघ । विपक्षी एमाओवादीलगायतका दलहरुको चर्को विरोधका बाबजुत १० दिन अघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जबरजस्ती प्रस्ताव समिति गठन गरेसँगै स्थगित भएको संविधानसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजेको लागि बैठक तय भएको भएपनि अहिलेसम्म बैठक सुरु हुन नसकेको संविधानसभा भवनबाट सहकर्मी अर्जुन पन्तले जनाएका छन् ।
बैठकमा सत्ताधारी दल र विपक्षी राप्रपा नेपालका सभासदहरु आउन क्रम जारी रहेको छ ।
यद्यपी बहुमतीय प्रक्रियाको विरोध गर्ने एमाओवादी र मधेसकेन्द्रित दलहरु भने आज बैठकमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेका छन् ।
यस्तै बैठकमा उपस्थित सहभागी हुन लागेको विपक्षी तथा संविधानसभाको चौथो शक्ति राप्रपा नेपालले भने विरोध संसदमा अवरोध गर्ने तयारी रहेको छ ।
संघीय गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितामा प्रतिकूल हुनेगरी प्रश्न नै निर्माण नगर्ने कार्यविधि तयार गरेपछि राप्रपा नेपाल असन्तुष्ट छ भने उसले सो निर्णय नसच्याए संविधानसभाबाटै बाहिरिने चेतावनी दिएको छ ।
सोहि निर्णय सच्याउन माग गर्दै राप्रपा नेपालले संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ ।
आजको बैठकमा सभाध्यक्षले घोषणा गरेको प्रश्नावली समितिको म्याद थपको प्रस्ताव गर्ने कार्यसूचि रहेको छ ।
संविधानसभाद्वारा गठित प्रस्ताव निर्माण समितिले प्रश्नावली निर्माणको मूलभूत काम पूरा गर्न असफल भएपछि पाँच दिनको समयावधि थप्न संविधानसभासमक्ष प्रस्ताव गर्ने बुझिएको छ ।
असहमतिलाई प्रश्नावली बनाएर प्रस्ताव तयार गर्न संविधानसभाले यही माघ ११ गते विवादका बीच सो समिति गठन गरेको भएपनि समिति जिम्मेवारी पुरा गर्न असफल भएको हो ।
प्रश्नावली निर्माणका लागि गठित उपसमितिका सदस्य कांग्रेस सभासद् रमेश लेखकका अनुसार संविधानको प्रस्तावना र संशोधन तथा मौलिक हक अधिकारको दुई विषयमा मात्र प्रश्न तयार भएको छ। यी प्रश्नलाई परिमार्जनसहित समितिले पारित गरिसकेको छ।
दलहरूबीच सङ्घीयता, शासकीयस्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा गम्भीर मतभेद रहँदै छ । प्रस्ताव समितिले करिब डेढ दर्जनको हाराहारीमा यस्ता प्रश्नावली तयार गरिसकेको छ । मूलभूत विषयमा एउटा प्रश्न बनाउने सोच भए पनि त्यससँग सम्वन्धित रहेर विभिन्न पक्ष र पाटोबाट प्रश्न उब्जने देखिएकाले सहायक प्रश्नसमेत बनाउने तयारीमा दल जुटेको बुझिएको छ । यस्ता प्रश्नावलीको सङ्ख्या ७० वटाको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।






