नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिक सहमतिको विषय दोस्रो प्राथमिकताको विषय भएको बताउनुभएको छ । नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जिल्ला कोषाध्यक्षका लागि कोष निर्माण, व्यवस्थापन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमको आज धुलिखेलमा भएको समापनमा उहाँले पहिलो प्राथमिकता नयाँ संविधान जारी गर्नु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, नयाँ संविधान जारी गर्ने पहिलो दायित्व काँग्रेसको हो र त्यसपछि एमालेको पनि हो त्यसैले हामीले संविधान निर्माणलाई नै प्राथमिकता दिनुपर्छ ।” नेता पौडेलले देश र जनतालाई जोखिममा राखेर राजनीति गर्ननहुने कुरामा जोड दिँदै नाफा र नोक्सानको राजनीति होइन सर्मपणको राजनीति गर्नुपर्छ भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले निर्वाचनलाई कम खर्चिलो र शासनप्रणालीलाई भ्रष्टाचारमुक्त गर्ने प्रयत्न हुनुपर्ने सुझाव दिनु भयो । तीन दिनसम्म चलेको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नवीन्द्रराज जोशीलगायतले राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
राजनीतिक सहमति दोस्रो प्राथमिकताः उपसभापति पौडेल






