गत २४ घन्टादेखि निरन्तर रुपमा वार्तामा बसिरहेका युक्रेनी राष्ट्रपति पेट्रो पेरोसेन्कोले युक्रेनी समस्या समाधानका लागि रसियाले धेरै सर्त राखेको बताउनुभएको छ । उहाँले ती सर्त आफ्ना लागि स्वीकार्य नभएको धारणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो– “वार्ता जारी नै छ, अहिले नै खुसीको समाचार सुन्ने स्थिति आइसकेको छैन र त्यसका लागि रसियाली सर्त बढी भएका छन् ।” उहाँले सो वार्तामा रसियाले कयौँ सर्तअघि सारिरहेको बताउनुभयो । तर ती सर्त के कस्ता हुन् भन्नेबारेमा भने उहाँ खुल्न चाहनुभएन ।
युक्रेनमा जारी रहेको हिंसात्मक समस्याको समाधानका लागि विभिन्न चार देशका नेताहरु त्यहाँ वार्तामा रहेका छन् । उनीहरुले यसका लागि केही दिनदेखि गम्भीर रुपमा बहस भइरहेको बताएका थिए । गएरातिदेखि नै वार्ता जारी रहेको बताइएको छ । सो वार्तामा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति पेट्रो पेरोसेन्को पनि रहनुभएको छ ।
त्यसैगरी सो वार्तामा फ्रान्सेली राष्ट्रपति फ्रासाँ ओल्याण्ड र जर्मन चान्स्लर एन्जेला मार्केल पनि रहनुभएको बताइएको छ । सो वार्ता सकिएपछि शान्ति सम्झौतामा हस्ताक्षर हुने समाचार यसअघि आएको थियो । तर सहमति नै नभएको पछिल्लो जानकारी बिहीबार युक्रेनी राष्ट्रपति पोरोसोन्कोले दिनुभएको छ ।
रसियाली सर्तहरु स्वीकार्य छैनन् : युक्रेनी राष्ट्रपति






