काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठसहित चारजना विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सामान नै ढुवानी नगरी ढुवानी गरेको भनि झुठा बिल भर्पाइ पेश गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको छानविन गर्दै आएको आयोगले मुद्दा प्रक्रिया अघि बढाएको हो ।
पूर्व महानिरीक्षक श्रेष्ठ करिब नौ महिना पदमा रहँदा भएका ढुवानी प्रकरणमाथि अनुसन्धान गर्दा उनको आदेश÷निर्देशनमा तत्कालिन लेखा प्रमूख सशस्त्र प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र श्रेष्ठ तथा अदिती ट्रान्सपोर्टका संचालक भरतकुमार थापासमेतको मिलेमतोमा सामान नै ढुवानी नगरी संचालन नै नभएको सत्यम ट्रान्सपोर्टबाट समेत सामान ढुवानी गराएको भनि नक्कली बिल बनाएर ८० लाख ९३ हजार ६ सय १० रुपैयाँ बराबरको रकम अनियमितता गरेको आयोगको दाबी छ ।
आयोगले पूर्व महानिरीक्षक श्रेष्ठ र निरीक्षक महरासँग समान ८० लाख ९३ हजार ६ सय १० रुपैयाँ बिगो दाबी गरेको छ भने नायब उपरीक्षक श्रेष्ठसँग १८ लाख ३९ हजार पाँचसय १० र ठेकेदार थापासँग ५७ लाख २१ ह्जार ५ सय ७० रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसअघि आयोगले माघ १८ गते सशस्त्र प्रहरी बलकै निलम्बित महानिरीक्षक कोषराज वन्तसहित ११ जनाविरुद्ध सोही आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।






