सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले ३ जना वर्ष नारी घोषणा गरी सम्मान सहित अवार्ड तथा तीज महोत्सव गर्ने भएको छ । ११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर- २०२३” अवार्डद्धारा सम्मान गर्ने कार्यक्रम रहेको नई एकेडेमी अस्ट्रेलिया अध्यक्ष सिमा रोसीले जानकारी दिईन् ।
अस्ट्रेलियाका ८ वटै राज्यबाट आवेदन माग गरिएको र प्राप्त निवेदनका आधारमा ५ वटा राष्ट्रका व्यक्तिहरु सम्मिलित छनोट समितिले गरेको मूल्यांकनका आधारमा अवार्ड प्रदान गर्न लागिएको उनले बताईन् । उक्त अवार्डका लागि धेरै जनाको आवेदन परेको थियो । ती मध्ये ३ जना नारी हरुलाई जनही पाँच सय डलर राशि सहित ’नइ नारी गौरवी पुरस्कार’द्धारा पुरस्कृत गरिने बताईएको छ ।
कला, साहित्य, खेलकुद, शिक्षा, विज्ञान, प्रविधि, समाजसेवा लगायत विविध क्षेत्रमा योगदान पुर्याउने नारीहरुलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक जेनिशा गौतमले जानकारी दिईन् । कार्यक्रममा हरितालिका तीजको अवसर पारेर विभिन्न सांगीतिक प्रस्तुती सगैं रमाईलो कार्यक्रम समेत रहने उनको भनाई छ । लक्ष्मी होम्स को मुख्य प्रायोजन रहेको कार्यक्रममा कलाकारहरु बिन्दु पौडेल, निशा केसी, सुनिल कटुवाल, ससपोईजन डिजे, जेनिशा गौतम लगायतले आफ्नो सांगीतिक प्रस्तुती दिने बताईएको छ ।
नेपाली वांगमयको श्रीवृद्धिका लागि नेपालमा स्थापित नई प्रकाशन अस्ट्रेलियामा नइ एकेडेमीको रुपमा सन् २०२२ डिसेम्बर १६ मा स्थापना भएको थियो । यसले अस्ट्रेलियन नेपाली समाज, साहित्य, कला र संस्कृति हितका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । नेपाली भाषा,कला, संस्कृति तथा साहित्यको प्रवर्धन र संरक्षण गर्ने र बिकास गर्ने उद्धेश्य सहित स्थापित संस्थाले अस्ट्रेलियामा रहेका नेपाली वाङ्मय सेवीहरूको सेवा, सम्मान, हित, मर्यादा र नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार गर्दै विभिन्न सम्मान समेत प्रदान गर्दै आईरहेको छ । एकेडेमीले कम्तिमा बर्षमा विबिध क्षेत्रका तिन जनालाइ पुरस्कार दिने, दुइ बर्षको अन्तरालमा सांस्कृतिक तथा बहुसास्कृतिक कार्यकर्म गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ ।






