एनआरएनएमा नेतृत्व छनोट विधि परिवर्तन गरौं : मन केसी, पूर्वप्रवक्ता

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका पूर्वप्रवक्ता मन केसीले संस्थाको नेतृत्व छनोट विधि परिवर्तन गर्ने प्रस्ताव अघि सार्ने भएका छन् । लन्डन नेपाल न्यूजसँग कुरा गर्दै पूर्वप्रवक्ता केसीले भने, ‘यो नेतृत्व छनोट विधि मलाई चित्त बुझेको छैन, म कसैलाई दोष दिन चाहन्न, तर यस्तो फोहोरी खेलबाट नेतृत्व छनोट गर्न मलाई नैतिकताले दिँदैन । यो नेतृत्व छनोट विधिले मलाई जहिले ‘हट’ गर्छ ।’ उनले भने, ‘यस पटकको चुनावमा साथीहरुले मलाई विश्वास गरेर नेतृत्व तहमा पु-याए भने पहिलो बैठकमै नेतृत्व छनोटको विधि परिवर्तन गर्नुपर्ने प्रस्तावमा छलफल चलाउँछु । अहिलेको नेतृत्व छनोट विधिले कत्ति पनि शोभा दिएको छैन ।’

एनआरएनएको अक्टुबर १५–१७ मा काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । उक्त सम्मेलनले नयाँ नेतृत्व छनोट गर्नेछ । नेतृत्व लिनका लागि यतिबेला एनआरएन चुनावी सरगर्मी बढेको छ । उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका केसीले नेतृत्व छनोट विधिबारे भने, ‘सम्मेलनका बेला विश्वभरिका एनआरएनले काठमाडौं भेला भएर गलत तरिकाले जात्रा देखाउँछन् । यो तरिका ठीक छैन ।’

नेतृत्व छनोटको कुन विधि ठीक हुन्छ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा पूर्वप्रवक्ता केसीले भने, ‘हामीले सजिलै १० लाख सदस्य बनाउन सकिन्छ । ती सदस्यले आ–आफ्नो घरमा आफ्नै हातको मोबाइलबाट एक ‘सट’मा भोट दिएर २४ या ४८ घन्टाभित्र नेतृत्व छनोट गर्न सकिन्छ । यो विधि हामीले अस्ट्रेलियामा सफल प्रयोग गरेका छौं ।’

लन्डन नेपाल न्युजका अस्ट्रेलिया संवाददाता तक्दीर अधिकारीसँग कुरा गर्दै केसी ।

‘यो समावेशी विधिबाट जाँदा १० लाख सदस्यले छनोट गरेका व्यक्ति नेतृत्वमा आउँछ । सम्पूर्ण सदस्यले पारदर्शीका साथ छनोट गरेको नेतृत्व भन्नुको मज्जा बेग्लै हुन्छ । यो विधिबाट खर्च जोगिन्छ, सम्पूर्ण सदस्यमा भिजेको व्यक्ति नेतृत्वमा पुग्छ’, केसीको तर्क थियो ।

एनआरएन अभियानमा काम गरेको आफूसँग प्रशस्त अनुभव भएकाले एकै पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । एनआरएनए अभियानमा खारिएका व्यक्तिहरु समावेश हुनुपर्छ भनेर संस्थाले एक महिलासहित पाँच उपाध्यक्षको व्यवस्था गरेको केसीको तर्क थियो । काम गर्न सक्ने सबैलाई संस्थाले ठाउँ दिएको छ । अनुभवले खारिएका अभियान्तलाई काम गर्ने ठाउँ हुनुपर्छ, उनले भने, हामीजस्ता अनुभव, क्षमता र संस्थाका लागि हित हुने काम गर्छु भन्दाभन्दै कसैले त काम लाग्दैनस् भन्छ भने खुरुखुरु आफ्नो काम गरिन्छ मेरो सिधा कुरा यही हो ।

विवाद भनेको जीवनको एउटा भाग भएको उनले बताए । घरमै पनि विवाद हुन्छ, एनआरएनमा नहुने भन्ने हुँदैन, तर हाम्रो संयन्त्रले त्यस्ता विवाद व्यवस्थापन गर्ने ल्याकत राख्छ । यसपटक साथीहरुले विश्वास गर्नुभयो भने यस्ता विवाद समाधान गरेर हामी देखाइदिन्छौं ।’

चुनाव जित्नका लागि तपाईंसँग एजेन्डा के छन भन्ने जिज्ञासामा पूर्वप्रवक्ता केसीले भने, ‘मेरा एजेन्डाहरु लेख्नै पर्दैन, त्यो मेरो रगतमै छ, संस्था यस्तो हुनुपथ्र्यो, यो भएको छैन वा यो राम्रो भइरहेको छ भन्ने स्पष्ट दृष्टिकोण मसँग छ ।’

निर्वाचित हुनुभयो भने के गर्नु हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘गर्नुपर्ने कुरामा पहिलो नम्बर संस्थागत विकास हो । संस्थागत विकासले धेरै कुरा बोल्छ, अहिलेसम्म भएको विकासबाट अझ अघि बढ्न रणनीति तय गर्नुपर्छ । त्यसमा हाम्रो धेरै संरचना र प्रकृयागतका कुराहरु छन् । नीति निर्माणका कुरा छन्, हाम्रो विधान छ । विगत १७ वर्षदेखि संस्थाले गरेको निर्णय एक ठाउँमा राख्ने हो भने एउटा ठूलै किताब बन्छ । त्यसलाई हामीले हेर्ने किन नहेर्ने ? ती निर्णयहरु बिर्सदै जाने, अर्को निर्णय मात्र गर्दै जाने हो भने त्यसले संस्थालाई हित गर्दैन । म पनि जिम्मेवार हुँ, त्यो अभियानको ।’
‘चुनावमा उम्मेदवार हुँदा यो गर्छु, उ गर्छु भनेर लामा लामा कुरा भन्छन् । त्यो कुरा सान्दर्भिक छ कि छैन ? ती कुरा भन्न पाइने कि नपाइने ? चुनावमा सहभागी हुँदा कसरी हुने ? प्रत्येक चुनावमा नयाँ स्टोरी, नयाँ संहिता लेख्नुपर्छ भन्ने मान्यता, भएका एजेन्डलाई प्रयोग नगर्ने ? आर्थिक पारदर्शीतालगायतका कुरा संस्थागत विकासमा आउँछ, उनले भने ।

केसीले भने, ‘दोस्रो कुरा दीगोपना हो । मुड चलेको बेला एकथोक भन्ने साँझ बिर्सने गर्नुहुँदैन । भिजन २०–२० मा संस्थालाई दीगो हिसाबले अघि बढाउन धेरै कुरा आएका छन् । यो हामीले अक्षरंश लागू गर्नुपर्छ । योसहित समावेशीसँगै एनआरएनमा सबैको पहुँच पुग्न हुनुपर्छ ।’

‘पहुँचको कुरा गर्दा उपाध्यक्षले ६ लाख तिर्नुपर्छ । जितेर गइसकेपछि अर्को एक लाख ७ लाख दिनुपर्छ । अध्यक्षले १० लाख जितेर गइसकेपछि अरु थप तिर्नुपर्छ । यो संस्थामा सबैको पहुँच पुग्छ ? कम आएका भएका सक्षम एनआरएनले जिन्दगीमा ११ लाख बुझाउन सक्दैन । त्यस हिसाबले ऊ जिन्दगीमो अध्यक्ष हुन नपाउने भयो । संस्था चलाउन बजेट चाहिन्छ, मर्ता नै क्या कर्ता भनेजस्तो हो । तर त्यस्ता कुरा हामीले अबका दिनमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।

निर्णयमा विकेन्द्रिकरण चाहिन्छ । माथिबाट होइन तल्लो तहबाट हामीलाई निर्णय पहुँच चाहिन्छ । यी लगायतका मेरा एजेन्डा हुन् ।
सहमतिबाट नेतृत्व छनोट हुन्छ भन्ने जिज्ञासामा उपाध्यक्षको उम्मेदवार घोषणा गरेका केसीले भने, सहमतीय विधि एकदमै राम्रो हो । ‘यसले दुईवटा कुरा हुन्छ, यसले गुुणस्तरीय मान्छेलाई संस्थामा फिट गर्न सजिलो हुन्छ । अर्को कुरा हामीजस्तो लामो समयदेखि अभियानमा संलग्न भएको मान्छेलाई यो मान्छेको क्षमता छ, यो मान्छेले गर्न सक्छ, गर्छु भनेपछि गर्ने मान्छे हो, यो मान्छे चाहिँ गर्छु भन्ने तर नगर्ने मान्छे हो भनेर यही बसेर लिस्ट बनाउन सकिन्छ । ममात्र होइन सयौं साथीहरुले त्यो खालको लिस्ट तयार गर्न सक्नुहुन्छ । आफ्नो आत्मा र इमान्दार भएर सम्झयो सोच्यो भने’ पूर्वप्रवक्ता केसीले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *