स्थगित एनआरएन युकेको मतगणना पुनः सुरु

लन्डन। गत शनिवार मतदान भए पछि उत्पन्न विवादका कारण रोकिएको एनआरएन युकेको मतगणना प्रक्रिया बिहीबार दिउंसो देखि शुरु भएको छ। केही मतदान केन्द्रहरुमा अनियमितता भएको भन्दै लिखित उजुरी परेपछि गत आइतबार शुरु गरिएको मतगणना विवादका कारण लगत्तै स्थगित गरिएको दुवै पक्षबीच सहमति बन्न नसके पछि बुधबार एनआरएनए आइसीसीले एक पत्र पठाएको थियो।

पत्रमा केन्द्रिय उपाध्यक्ष कुल आचार्यको नेतृत्वमा सहकोषाध्यक्ष सोम सापकोटा, आइसीसीका सल्लाहकारहरु डा हेमराज शर्मा एवं सुरेन्द्र श्रेष्ठ तथा युरोप संयोजक शिव बरुवाल सहितको रोहवरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत सम्मिलित गरी तुरुन्त मतगणना कार्य सम्पन्न गर्न अनुरोध गरिएको थियो। बुधबार अबेर फार्नबरोमा बसेको एक बैठकमा उपाध्यक्ष आचार्यले निर्वाचन समिति तथा दुवै उम्मेदवार समेतसंग बैठक गरि आइसीसीको पत्र पढेर सुनाएका थिए।

यसअघि बुधबार बसेको एनआरएन युके निर्वाचन समितिको बैठकले निर्वाचन समितिका सदस्य रिटायर्ड लेफ्टिनेन्ट कर्णेल याम बहादुर रानाको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो। समितिमा रिटायर्ड मेजर कृष्ण गुरुङ तथा उमेश मोक्तान सदस्य रहेका छन् ।

दुवै उम्मेदवारहरुले बुधबार राती एक सहमतिपत्रमा हस्ताक्षर गरे पछि अल्डरशटस्थित एम्पायर हलमा बिहीबार दिउसो २:३० बजे देखि मतगणना प्रक्रिया शुरु भएको छ। मतगणना प्रक्रिया समयमा शुरु हुन नसक्दा एनआरएन युकेका मतदाताहरु तथा सर्वसाधारणले पनि निराशा र आक्रोश व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *