कोरोना समाजशास्त्र
डा. मित्र परियार
विलकुलै नयाँ कोरोनाभाइरसले विश्वलाई आक्रान्त पारिरहेको छ। संसारभरका भाइरोलोजिष्टहरू, संबन्धित क्षेत्रका वैज्ञानिकहरू औषधि र भ्याक्सिन निर्माणमा अहोरात्र खटिरहेका छन्। तर सायद यो कोभिड १९ च्वाट्टै निको हुने दबै सम्भव हुनेछैन, जसरी रूघाखोकीको औषधि छैन। आम मानिसले यसलाई जित्ने भनेको मेडिकल नभएर सामाजिक तरिकाले हो। आगामी दिनहरूमा कोरोनाको समाजशास्त्र पनि निक्कै पेचिलो बन्दै जाने निश्चित छ।
सत्रौ शताब्दीका अंग्रेजी राजनीतिक दार्शनिक थोमस हब्सको बुझाइ सत्य थियो भन्ने हाल देखिदै छ। हब्स दर्शनको मूल सार के थियो भने मानिस नितान्त स्वार्थी हुन्छ। राज्य वा त्यस्तै आधिकारिक शक्तिको कठोर नियन्त्रण नभएसम्म मान्छेहरू एकअर्कालाई जति सताएर भए पनि आफ्नो स्वार्थ पूरा गर्छन्। नभन्दै, पसलका भएभरका सामान ओसार्नेदेखि अरूको जीवनरक्षाका लागि सावधानी नअपनाउनेसम्म हर्कत भैराखेको छ। मानिसले स्वतस्फुर्त रुपमा नियम पालना नगर्दा आज संसारका आधा जनसंख्या “लकडाउन”मा छन्।
कठोर राज्यनीतिद्वारा मानिसलाई घरघरमा, कोठाकोठामा कैदी बनाइराख्दा कोरोनाको फैलावट त धेरै घट्ला, तर दैनिक ज्यालामजदुरी गरिखानेको जीविका कसरी चल्छ भन्ने प्रश्न उत्तिकै पेचिलो बनेको छ। यो हाम्रो जस्तो सामाजिक सुरक्षा नभएको गरीव मुलुक मात्र नभएर युके, अमेरिका जस्ता विकसित देशको पनि जटिल समस्या हो।
अझ डर लाग्दो पक्ष त यो संकट कति हप्ता, कति महिना लम्बिन्छ भन्ने पत्तो छैन। कोरोनाको मूल संकट अनिश्चितता हो। यो लकडाउन लम्बिदै गयो भने सामाजिक “अनरेष्ट”को प्रचुर सम्भावना छ। सायद विजेपी जस्तो दक्षिणपन्थी दल सत्तामा नभएको भए, भारतमा तीन-तीन हप्ता लामो बन्द गरिने थिएन। भाइरसले बचाएका प्राणहरू भोकले मार्ने सम्भावना प्रबल छ छिट्टै कोरोनाको संकट फेला नपरेमा।
ब्रिस्टोल युनिभर्सिटीका एक प्रोफेसरको एक आर्थिक अध्ययनले के देखाउँछ भने लामो लकडाउनले जति ब्रिटिश नागरिकको ज्यान बचाउँछ, त्यसबाट उत्पन्न आर्थिक समस्याले कालान्तरमा झनै धेरै मानिसको प्राण जान्छ। खतरा मापनको “जे भ्यालु” प्रयोग गरेर निकालिएको यस निस्कर्षले सबैलाई सचेत गराएको छ कि भाइरस फैलावट नियन्त्रण गर्दागर्दै देशको अर्थतन्त्रलाई पनि सकृय तुल्याउँदै लैजानु आवश्यक हुन्छ।
लामो समय लकडाउन गर्दा मानिसको जागिर जाने, व्यापार चौपट हुने खतरा त छदै छन्, मनोवैज्ञानिक असर समेत घातक हुन सक्दछ। खाडी र मलेसियामा मजदूरी गर्ने दाजुभाई दिदीबहिनी स-साना कोठामा थुनिएका छन्। नेपालमै पनि सडकमा निस्किन समेत दिइएको छैन।
बेलायतमा भूपू गोर्खा बृद्द लाहूरे र उनका श्रीमतीहरू ससाना कोठामा कोच्चिएका छन्। कतिको त आफन्ती सबै नेपालमा छन्, कतिले इन्टरनेट चलाउन पनि जान्दैनन् सम्पर्कको लागि। यसबाट चिन्ता बढ्ने, एक्लोपन हुने, आत्महत्याको सोच आउने जस्ता धेरै दिमागी समस्याहरू उत्पन्न हुन सक्दछन्।
सामान्य रुघा खोकीले त गाउँकागाउँमा महामारी फैलिएको हाम्रो आफ्नै अनुभव छ,सामान्य ओखतीसमेत गाउँगाउँमा नपुगेर रुघा खोकी र ज्वरोले समेत थलिने हाम्रो स्वास्थ्य अवस्थाको नाजुक अवस्थामा झन् अन्तराष्ट्रिय रुपमा समेत कुनै ओखती फेला नपरेको महामारीको रुप लिएको अवस्थालाई सतर्कताका साथ बेलैमा जोहो गरिनु पर्छ ।
त्यस्तै, हाल सम्पूर्ण समाचारहरू, सोसल मिडिया सामाग्रीहरू कोरोनाको त्रासमै केन्द्रित छन्। यत्रतत्र चर्चा एकै विषयमा केन्द्रित छ। फलस्वरुप अब सबै मरिने पो हो कि भन्ने त्रास व्याप्त छ। पाच साल अघि भूकम्पले गर्दा घर बाहिर नगए मरिन्छ भन्ने थियो धेरै नेपालीलाई, अहिले घर बाहिर गए मरिएला भन्ने खतरा छ।
मिडियाले, सरकारले के कुरा राम्रोसंग खुलाइरहेका छैनन् भने कोरोनाभाइरस सोचे जति प्राण घातक छैन। भेट्ने जति सबैको प्राण लिन्छ भनेर थुनछेक गरेको होइन भन्ने सत्य बुझाइएको छैन। वास्तवमा मृत्युदर त न्यून छ। केवल एकैचोटि धेरै संक्रमित भए र हजारौलाई एकै खेपमा असपतालको सेवा चाहिएमा पुग्दैन र अनावश्यक रुपमा जायनहरू जाने खतराको कारण लकडाउन गरी भाइरसको फैलावट ढिलो गर्न खोजिएको मात्र हो।
त्यसैले, हामी धेरै जसो मानिस कालबाट लुकेका नभएर सम्बनधित देशका डाक्टर, नर्स, अस्पताल बेड अपुग नहोस् भनेर भित्रै बसेका हौ। डराउन, आत्तिन पर्ने केहि छैन। चिन्ता धेरै लिनु आवश्यक छैन, परन्तु सावधानी सकेसम्म अपनाउनु पर्दछ।
विश्वव्यापी कोरोना आतंकले समाजलाई, मानवजगतलाई केहि गतिलो सन्देश पनि दिएको छ। के धनी देश, के गरीव देश, सबैको भाग्य र भविष्य गाँसिएको हुन्छ भन्ने सत्य अवगत गराएको छ। सायद यसबाट ट्रम्प जस्ता विश्वनेताले शिक्षा लिने छन् र जलवायु परिवर्तन जस्ता सवालमा सकारात्मक बन्दै जानेछन् भन्ने आशा गर्न सकिन्छ।
कोरोनाले के पनि सिकायो भने जुनसुकै जात, धर्म र सम्प्रदायका भए पनि मानिस एकै हुन्। जति धनी वा दरिद्र भए नि सबैको जीवन एक आपसमा जोडिएका छन्। त्यो मानवीय गाँठो बलियो नभएसम्म कोहि पनि पूर्ण रुपले सुरक्षित हुदैन।
सकारात्मक शिक्षा लिदै कोरोना कहर काटौ। सधै कोरोना र मृत्यु सोचेर मनोवैज्ञानिक रोगको शिकार नबनौ। विरलै उपल्ब्ध हुने फुर्सदको समय केहि पढेर, नया चीज सिकेर, एकअर्कालाई निस्वार्थ मद्दत गरेर व्यतित गरौं। आर्थिक धक्का खाइयो भने पनि, केहि आफन्ती गुमाइयो नै भने पनि मनोवैज्ञानिक रुपमा, समाजिक रुपमा झनै बलियो र सबल बन्दै पार गरौं।






