सिड्नी। एनआरएनए वोमन फोरम(नारी निकुञ्ज) सँगको सहकार्यमा नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य समितिको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ। आइतबार, ८ मार्च २०२६ मा अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा आयोजित कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नारी निकुञ्ज न्यू साउथ वेल्सकी सह–संयोजक लक्ष्मी भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा न्यू साउथ वेल्स लेजिस्लेटिभ काउन्सिलकी सदस्य ज्याकी मुनरो प्रमुख अतिथि तथा न्यू साउथ वेल्स महावाणिज्यदूत सञ्जीव शर्मा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा वक्ताहरूले महिला सशक्तीकरण, नेतृत्व विकास तथा समाजमा महिलाको योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। कलाकार श्रेया ज्ञवाली, अभिषा ज्ञवाली र जेनिसा गौतम लगायतले आकर्षक प्रस्तुति दिएका थिए भने नृत्य कला सेन्टर अस्ट्रेलिया र स्टुडियो डान्स अस्ट्रेलियाका कलाकारहरूले मनमोहक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य समिति संयोजक आशा श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नारी निकुञ्ज सदस्यहरू, पूर्व सदस्यहरू, पत्रकार तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरिन्। उनले आफूले अपेक्षा गरेभन्दा कार्यक्रम अझ राम्रो भएको बताउँदै आगामी वर्षहरूमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अझ सशक्त र परिस्कृत कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्षहरू, नारी निकुञ्ज संस्थापक तथा पूर्व अध्यक्षहरू,न्यू साउथ वेल्स राज्य समिति संयोजक तथा पूर्वसंयोजकहरू, एनआरएनएका विभिन्न अभियन्ताहरू, पत्रकारहरू, विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरू,लगायत नेपाली समाजका अगुवाहरू तथा महिला अभियन्ताहरूको विशेष उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रम नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य समिति सचिव रोजा प्रधानले सञ्चालन गरेकी थिइन् भने सांस्कृतिक कार्यक्रम पूर्व नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य समिति संयोजक सबला बस्नेत र सदस्य अजिना कार्कीले संयुक्त रूपमा सञ्चालन गरेका थिए।।कार्यक्रम सफल बनाउन विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। मुख्य प्रायोजकका रूपमा Grand Palace Function Centre रहेका थिए भने सह प्रायोजक प्रायोजकका रूपमा Saphaire Estate Agents ले सहयोग गरेको थियो। साथै Expert Education and Visa Services, Vision Smart Homes,FinConnex Financial लगायत विभिन्न व्यवसाय तथा समुदायका प्रतिनिधिहरूले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।






