सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा कोरोेना संक्रमणको तेस्रो लहर देखिने जोखिम बढेको छ । लामो समयदेखि शुन्य संक्रमित रहेको न्यू साथ वेल्समा अघिल्लो दिन मात्रै नयाँ संक्रमितहरु भेटिएका छन् । त्यस्तै साथवेस्ट सिड्नीमा एक जनामा संक्रमण देखिएको छ ।
राज्यमा संक्रमितको संख्या २८ पुगेसँगै राज्य सरकारले मानिसहरुलाई अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन तथा आवातजावात कम गर्न आग्रह गरको छ ।
न्यू साउथ हेल्थले नर्दन विचका मानिसहरुलाई घरभित्रै रहन आग्रह गरेका छन् । घरबाटै काम गर्न, तथा जथाभावी समुह बनाउने काम बन्द गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले भन्यो, “साथीसंगीहरु र अस्पतालहरुमा रहेका मानिसहरुसँग अत्यावश्यक काम बाहेक अन्य समयमा भेटघाट नगरौँ, क्लब, रेष्टुरन्ट, पुजाआजा स्थल र जिम केन्द्रहरुमा पनि जाने क्रम बन्द गरौँ । ” राज्य सरकारले उलवोर्थ मोना भेल, अल्डी मोना भेल, एभालन विच सर्फ लाइफ सेभिङ्ग क्लब,कलोरे विच रकपुल लगायतका क्षेत्रमा भ्रमण गरेका मानिसहरुको परिक्षण गर्ने र नेगेटिभ नआएसम्म आइसोलेट गर्ने समेत निर्णय गरेको छ । क्रिसमस नजिकिदै गर्दा देखिएको कोरोना लहरलाई चिन्ताजनक भन्दै राज्य सरकारले संक्रमण दर बढ्दै गएको खण्डमा फेरी लकडाउन आह्वान गर्न सकिने आँकलन गरिएको छ । एनएसडब्लु प्रिमियर ग्लाडी बिरेजीक्लीयनले शुक्रवार पत्रकार सम्मेलन गरी कोेरोना संक्रमणको अवस्था र भावी कार्ययोजनाको बारेमा जानकारी गराएकी छन् ।
त्यसैगरी संक्रमित भेटिएका क्षेत्रमा कन्ट्याक ट्रेसिङ्गको काम अघि बढाइने भएको छ । क्विन्सल्याण्ड, वेस्ट अष्ट्रेलिया, नर्थन टेरिटोरी र तास्मानियाले न्यू साउथ वेल्समा कोरोना संक्रमणको जोखिम बढेसँगै यात्रा नियमहरुमा कडाई गर्ने भएका छन् । क्विन्सल्याण्डले हालमात्रै राज्यमा भित्रिएका मानिसहरुको कोरोना परिक्षण गर्ने भएको छ । हाल न्यू साउथ वेल्स बाहेक अष्ट्रेलियाको अन्य सबै राज्यमा कोरोना संक्रमण शुन्यको अवस्थामा छ ।
एजेन्सी
(तस्वीर : ABC News )






