सिड्नी । अष्ट्रेलियामा कार्यरत नेपाली डाक्टर कुश श्रेष्ठको निधन भएको छ ।
हाडजोर्नी विशेषज्ञ डा. श्रेष्ठको ४८ बर्षको उमेरमा आइतवार विहान क्विन ऐलिजावेथ अस्पतालमा निधन भएको हो । फोक्सोको क्यान्सरले पीडित रहेका उनको निधन भएको सिड्नीस्थित महावाणिज्यदूतावासका महावाणिज्य दूत दिपक धमलाले बताए ।
केही वर्षअघि श्रेष्ठको टाउकोमा अपरेशन गरिएको थियो । गत बर्ष हृदयघातको समेत शिकार भएका उनी लामो समयदेखि उपचाररत थिए । अष्ट्रेलियामा स्वास्थ्य क्षेत्रका विशेषज्ञको रुपमा प्रतिष्ठा कमाएका श्रेष्ठको निधनले यहाँ रहेको नेपाली सोसाइटी स्तब्ध बनेको छ ।
उनी अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एशोसियसन एम्डाका महासचिव समेत थिए । उनी सन् १९९९ मा युनिर्भसिटी अफ एडिलेडबाट डाक्टरको उपाधि प्राप्त गरेर स्वास्थ्य क्षेत्रमा होमिएका थिए ।
उनी श्रीमतीसहित दुई छोरा सहित एडिलेडमा बस्दै आएका थिए ।






