शिब भण्डारी
लन्डन। नेपालको जल विद्युत क्षेत्रका एक प्रमुख लगानीकर्ता तथा जानकार ज्ञानेन्द्र लाल प्रधानले नेपालमा नयाँ बन्न लागेको सरकारले जल विद्युतको विकासलाई उच्च प्राथमिकता दिनु पर्ने बताएका छन्।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहिबार साँझ लन्डन इलिङस्थित हिल्टन होटेलमा भएको डिनर रिसेप्सनका क्रममा बेलायत र नेपालको व्यापार सम्बन्धका विभिन्न विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो।
अन्तरक्रियामा बोल्दै प्रधानले जलविद्युत क्षेत्रमा लगानी गर्न सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुका लागि ढोका खुला गर्नु पर्ने बताए। पुरानै नियम कानून र पुरानै प्रवृत्तिका कारण विदेशी लगानीकर्ताहरु नेपाल आउन नसकेको उनले बताए ।
‘अहिले नेपालमै पनि लगानीयोग्य पूँजी त्यत्तिकै बसी रहेको छ , सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेमा जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तत्पर रहेको छ,’ उनले भने। उक्त अवसरमा बोल्दै बीएनसीसीका अध्यक्ष डा कपिल रिजालले नेपालमा ब्रिटिश लगानी प्रवर्धन गर्न आफ्नो संस्थाले काम गरिरहेको जनाए। उनले नेपालमा बन्न लागेको नयां सरकारले प्रत्यक्ष विदेशी लगानी तथा एनआरएन लगानी भित्र्याउन खुला नीति अपनाउन सुझाव दिए। बीएनसीसीका पूर्व अध्यक्ष राजन कडेंलले व्यापार व्यवसाय कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राखेका थिए ।
बीएनसीसीका उपाध्यक्ष बिराज भट्टले संचालन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा बिएनसीसीका प्रमुख कार्यकारी (अनरेरी) रिचर्ड पेली,बिएनसीसीका सदस्य सन्तोष मण्डल,सुभाास गुरुङ,नेपाली वेयलफेयर सोसाईटीका अध्यक्ष धन बहादुर सार्की, व्यवसायी कृष्ण भट्ट,प्रगति ओझा,पत्रकारहरु शिव भण्डारी, जगन कार्की र बाचस्पति रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा उपस्थितले नेपालमा लगानीको वातावरण सम्भावनाका क्षेत्रहरुका विषयमा जिज्ञासा राखेका थिए ।बीएनसीसीले बेलायतबाट नेपालमा व्यापार, पर्यटन तथा लगानी अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।






