नेपालको संविधान स्वीकारेका छौं : भारतीय गृहमन्त्री

ऋषि धमला
rajnath singhनयाँदिल्ली- भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्वीकार गरेको बताएका छन् । उनले भारतले संविधान अस्वीकार गरेको र त्यसको विरुद्धमा छ भन्ने समाचारमा सत्यता नभएको दाबी गरे ।

नयाँ दिल्लीमा नेपाली पत्रकारसँगको भेटमा भारतीय गृहमन्त्री सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमा सबैको अपनत्व हुँदा राम्रो हुने मात्र स्मरण गराएको दाबी गरे ।

गृहमन्त्री सिंहले मधेसले उठाएको मुद्दा नेपालीको आन्तरिक मामिला भएको भन्दै नेपालकै दलहरु मिलेर समाधान गर्नु पर्ने बताए । उनले भने, ‘यसमा भारतको कुनै हस्तक्षेप हुँदैन । हाम्रो भूमिका पनि छैन र हाम्रो सरोकारको विषय पनि होइन ।’

गृहमन्त्री सिंहले नेपालमा नेपालीहरुलाई कुनै समस्या नपरोस् भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै नेपालमा देखिएको जुन अभाव, दुःख र आपूर्तिमा असहजता छ त्यो मधेसी दलहरुलाई सहमतिमा ल्याउना साथै सहज हुने विश्वास ब्यक्त गरे ।

उनले भने, ‘हामीले नाकाबन्दी गरेका छैनौं, त्यस्तो कुरा भारतले सोचेको पनि छैन । मधेसकै कारण आपूर्ति असहज भएको हो । भारतको तर्फबाट म स्पष्ट पार्न चाहन्छु नाकाबन्दी छैन । उल्टै बरु हामी नेपालमा परेको समस्याले चिन्तित छौं ।’

गृहमन्त्री सिंहले नेपालमा कति प्रदेश बनाउने, सीमांकन कसरी गर्ने भन्ने कुरा नेपालीहरुको भएकोले यसमा भारतले कुनै दवाव नदिने स्पष्ट पार्दै भारतले छिटो भन्दा छिटो नेपालमा देखिएको समस्या बार्ता र संबादबाटै समाधान होस भन्ने चाहेको सुनाए । उनले भने, ‘भारत बार्ताबाट समस्या समाधान होस भन्ने चाहन्छ । वार्तालाई निरन्तरता दिनु पर्छ ।’