खतरनाक घेराबन्दीमा गच्छदार

काठमाडौं – सत्तामा जान भनेपछि मरिहत्ते गर्ने जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार चौतर्फी घेराबन्दीमा पर्दै जान थालेको खबर छ । प्रचण्ड सरकारमा जान अन्तिममा केपी ओलीको साथ छाडेर मार्ग प्रशस्त गरे पनि सत्तारुढ दलले भाउ नदिएपछि चित खान पुगेका गच्छदार यतिबेला पार्टीभित्रै एक्लँदै जान थालेका छन् ।
पार्टीमा जंगबहादुर शासन चलाउँदै आएका उनी आफ्ना विश्वासपात्रले हाराभारा खेलाएपछि उनी ‘के गर्ने र कसो गर्ने’को अवस्थामा पुगेको चर्चा फोरम कार्यकर्ताबीच चल्न थालेको छ ।

विगतमा गच्छदारका ‘एस म्यान’ कै रुपमा चिनिएकाहरु गच्छदारको ‘आफू मात्रै खाऊ, अरु भोकै बसून्’ भन्ने स्वार्थ केन्द्रित हर्कतविरुद्ध पहिलोपटक एकसाथ उभिएपछि उनी पार्टीभित्रै कमजोर बन्न पुगेका हुन् ।

स्रोतका अनुसार, अझै पनि उपप्रधानसहित कुनै एक मन्त्रालय लिएर सत्तारोहणको दाउ कुरिरहेका गच्छदारलाई रोक्न योपटक पार्टीका उपाध्यक्षसहित बहुमत सांसद्ले मोर्चा नै कसेका छन् ।

गच्छदारले यसअघि धेरैपटक फाइदा लिइसकेकाले उनीबाहेकका नेतालाई सरकारमा पठाउनु पर्ने मत राख्दै कसिएको मोर्चा खतरनाक ढंगले अघि बढिरहेको जानकारहरु बताउँछन् ।

फोरम लोकतान्त्रिकमा गच्छदारविरुद्ध भर्खरै कसिएको यो मोर्चाको नेतृत्व पार्टी उपाध्यक्ष जीतेन्द्र देवले लिएका छन् । उपाध्यक्ष देव त पार्टी फुटाएरै भए पनि गच्छदारको मनपरीतन्त्र विरुद्ध खडा हुनुपर्ने भन्दै लबिङमा लागेका छन् ।

देवलाई सांसद् समेत रहेका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, सांसद्हरु दानबहादुर चौधरी, जनक चौधरी, योगेन्द्र चौधरीलगायत झण्डै बहुमत सांसद्को साथ रहेको बताइन्छ । फोरम लोकतान्त्रिकको व्यवस्थापिका संसद्मा १४ सांसद् छन् ।

उता, गच्छदारलाई नगद नारायण चढाएर सांसद् बनेकाहरु समेत योपटक गच्छदारको दाहिना नहुने संकेत देखिएको छ । सरकारमा जान बढी उत्साहित देखिएका उनीहरुले देवको समूहलाई गच्छदारविरुद्ध भित्रभित्रै उचाल्दै सत्तारोहणको दाउ कुरेको बताइन्छ ।

देवले आफ्नो समूह भेला पारेर पटक पटक छलफल गरेको र गच्छदारको अटेरी कायम रहेमा पार्टी फुटाउने सम्मको योजना बनाएको दाबी स्रोत छ । ‘फोरम लोकतान्त्रिकले गच्छदारबाहेकलाई सरकारको नेतृत्व गरेर नपाठाउने निर्णय गरे पनि यो निर्णयविरुद्ध मत प्रकट हुन थालेका छन्,’ फोरमका एक नेताले भने, ‘देवलगायत नेता सकेसम्म गच्छदारलाई कन्भिन्स गर्ने, कन्भिन्स नभए पार्टी फुटाएरै भए पनि सरकारमा जानुपर्ने भन्दै कम्मर कसेर लागेका छन् ।’