दाङ, पुस २६– नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले नेत्र विक्रम चन्द ‘विप्लव’ ले जनक्रान्ति गर्छु भन्नु केटाकेटी पन भएको बताएका छन् । भित्तामा जनक्रान्तिका नारा लेख्दैमा क्रान्ति नहुने भन्दै चरम महत्वकांक्षीद्धारा ग्रसित र अराजकतावादी प्रवृति बाहेक अरु केहि नभएको उनले बताएका छन् ।
रिपोर्टस क्लब दाङले तुलसीपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा बादलले भने, ‘हामीलाई केहि गर्न नसकेको र सुतेको सुत्यै गरे भनेर अलग भएका छन् अढाइ महिना क्रान्ति गरेर देखाउन शुभकामना छ ।’ जनक्रान्तिका कुरा गरेर सत्तासाझेदारीका लागि बाग्रेनिङ गरेको बताउँदै ८० प्रतिशत हिस्साको मागले त्यहि कुरालाई पुष्टि गर्ने उनको तर्क छ । विप्लव माओवादीको राजनीतिक कार्यदिशा क्रान्तिकारी नभएको भन्दै त्यस्तो रुपमा देखिएपनि सारमा दक्षिणपन्थि निति भएको बताएका छन् ।
विप्लव माओवादीको क्रान्तिक्रारी लाइनले अहिलेको व्यवस्थालाई आमुल परिवर्तन गर्न नसक्ने भन्दै बादलले व्यक्तिवादी सोचाइले सफलतामा नपु¥याउने बताएका छन् ।
संविधान आए जलाउने
यसैगरी एक अर्को प्रसंगमा पार्टीका महासविच समेत रहेका बादलले माघ ८ गते संविधान आए जलाई दिने धम्किदिएका छन् । सकभर संविधान आउँदैन यदि आइहाल्यो भने पनि ९ गते जलाउनका लागि देशका ७५ वटै जिल्ला तयारी गरेको बताएका छन् ।
अहिले आउने संविधानलाई कुनै पनि क्रान्तिकारी शक्तिले स्वीकार नगर्ने भन्दै जनताको विरुद्धमा आउने संविधानको कुनै काम नभएको बताए । त्यसका लागि ९ गतेसम्म देशव्यापी आन्दोलनका कार्यक्रम रहेको बताएका छन् । आफुहरुको संघर्ष जारी रहेको उल्लेख गर्दै संघर्षमा कहिले जित र हार स्वभाविक भएकाले आफुहरु आन्दोलनमा निरन्तर लागि रहने समेत बताए ।
त्यसैगरी उनले सबै माओवादीसँग एकता गर्ने बताएका छन् । क्रान्तिकारी शक्तिहरुसँग एकता गर्न ६ बुँदे आधारपत्र समेत तयार गरी एकताको पहल सुरु गरेको बताएका छन् ।







