काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन आयोजक समितिको आकार घटाउने भएको छ ।
करिब २ हजार ५ सय सदस्यीय समितिलाई व्यवस्थापन गर्न कठिन भएपछि माओवादी केन्द्रले समितिका सदस्यको संख्या कटौती गर्ने भएको हो ।
यस विषयमा निर्णय गर्न माओवादी केन्द्रको सचिवालयको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा वसिरहेको छ । पार्टी प्रवक्ता पम्फा भुषालले पार्टी एकतापछि सबैलाई समेट्ने प्रयास गर्दा महाधिवेशन आयोजक समितिको संख्या ठूलो भएको भन्दै बैठकमा धारणा राख्ने धेरैजसो सदस्यले समितिलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव दिएको जानकारी दिइन् ।
उनले सदस्यहरुका सुझाव अनुसार नै बैठकले आवश्यक निर्णय लिने बताइन ।
सदस्य संख्या धेरै भएका कारण माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्न सकेको छैन ।
यस्तै, पुसमा गर्ने भनिएको महाधिवेशन पनि माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण जनाउँदै यसअगाडि नै स्थगित गरिसकेको छ ।






