नेपाली मूलका पाठकलाई नोबेल पछिको दोस्रो ठूलो मेडल

काठमाडौं- नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई जोन बेट्स क्लार्क मेडल २०१८ प्रदान गरिने भएको छ ।

जोन बेट्स क्लार्क मेडल अर्थशास्त्रमा नोबेल पुरस्कारपछि दोस्रो ठूलो उपाधि हो ।

अमेरिकन इकोनोमिक एसोसिएसनका अनुासार, अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएबापत पाठकलाई मेडल प्रदान गरिन लागेको हो ।

अमेरिकन इकोनोमिक एसोसिएसनले यो मेडल ४० बर्षभन्दा कम उमेरका युवा अर्थशास्त्रीलाई प्रदान गर्दै आएको छ ।

म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका पाठकले ३७ बर्षको उमेरमा मेडल प्राप्त गर्न सफल भएका हुन् ।

उनले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनले सार्वजनिक विद्यालयको शिक्षा प्रणाली सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।

उनको जन्म सन् १९८० मा अमेरिकाको न्यूयोर्कमा भएको हो । उनका बुबाआमा काठमाडौंबाट अमेरिका बसाइँ सरेका थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाइड म्याथम्याटिक्समा स्नातक र स्नातकोत्तर गरेका छन् ।