काठमाडौं– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको २ महिनापछि आइतबार चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ ।
अन्तिम निर्वाचन परिणाम आएको २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने संबैधानिक व्यवस्था अनुसार प्रदेशसभा बैठक डाकिएको हो ।
आइतबार प्रदेश नम्बर २ को जनकपुरमा, ५ को रुपन्देहीको बुटवलमा, ६ को सुर्खेतमा र ७ को कैलालीको धनगढीमा प्रदेशसभा बैठक बोलाइएको छ ।
यी प्रदेशमा बस्ने पहिलो बैठकले सभामुख, उपसभामुख, मुख्यमन्त्री चयन लगायतका अन्तरिम कार्यसुचि पास गर्नेछन् ।
यसअघि प्रदेश ३ को पहिलो बैठक माघ १८ गते बसेको थियो । प्रदेश १ र ४ को पहिलो बैठक भोली सोमबारलाई तोकिएको छ ।
आइतबार पहिलो बैठक बस्ने प्रदेशसभा बैठकका लागि सांसदहरु आ–आफ्नो प्रदेशमा शनिबारै पुगिसेका छन् ।
गत मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनपछि प्रदेश नम्बर ३ मा माघ १८ गते सवैभन्दा पहिला प्रदेश बैठक बसेको थियो ।
प्रदेश २ को आज बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्दैछन् । यो बैठकपछि प्रदेश २ मा राजपा र संघीय समाजबादीले मुख्यमन्त्री चयन गर्ने बताएका छन् । यद्यपी मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा उनीहरुबीच सहमति भैसकेको छैन । प्रदेश नं १ मा १ सय ७ सांसद रहेका छन् ।
त्यस्तै प्रदेश ५ को बैठक बुटवलमा बस्दैछ । यो प्रदेशको पहिलो बैठकमा ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले अध्यक्षता गर्नेछन् । यो प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले नेता शंकर पोखरेल निर्विवाद देखिएका छन् ।
प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठक पनि आजै सुर्खेतको वीरेन्द्रनगरमा बस्दैछ । यहाँ प्रदेशसभाका जेयष्ठ सदस्य हिमबहादुर शाहीले बैठकको अध्यक्षता गर्ने बताइएको छ ।
प्रदेश ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्ने भएकी छन् । बैठकले सभामुख, उपसभामुखको निर्वाचन मिति तोक्नेछ भने अन्तरिक कार्यविधि पनि पारित गर्ने बताइएको छ ।






