तक्दीर अधिकारी
गैरआवासीय नेपाल संघ (एनआरएनए) स्थापना भएको १६ वर्षपछि पहिलो पटक विश्व सम्मेलनमा सहभागी हुने अवसर प्राप्त भयो । सम्मेलनमा सहभागी हुनुभन्दा अघिको मेरो उत्साह र उमंगयत्ति धेरै थिए, जसको कुनै मापन हुँदैन थियो । विश्व सम्मेलनको मिति सरेपछि अस्ट्रेलियाबाट सहभागिताका लागि काठमाडौं जाने वा नजाने भन्ने दुविधा ममा भयो । त्यो दुविधालाई साइट लगाउँदै मेरो उत्साहमा ऊर्जा थप्ने काम लन्डनबाट लण्डन नेपाल न्यूज डट कमका प्रधानसम्पादक शिव भण्डारीले गरिदिनु भयो । 
अन्ततः म अक्टोबर १३ को फ्लाइट समातेर हङकङ हुँदै काठमाडौं उत्रिएँ ।चिनियाँ राष्ट्रपति सि जिङपिङ अपरान्न नेपाल भ्रमण सकेर स्वदेश प्रस्थान गरेका थिए भने हामी राति १० बजे त्रिभुवन विमान स्थलमा उत्रेका थियौं । एउटै उडानमा आएका हाम्रा साथीहरु र अध्ययगमनका कर्मचारीबीच केही असमझदारी भए । साथीहरुबाट पनि केही गल्ती भएको होइन म भन्दिनँ । तर त्यो भन्दा पनि नेपालका सरकारी कर्मचारीको दम्भ पहिलो पटक अनुभूति गर्न पाएँ । ती कर्मचारीको दम्भको शिकार हुनबाट म बच्न सकिनँ । हाम्रा पासपोर्ट हरु खोसियो, जुन पछि लिनलाई अध्यगमनको कार्यालय पुग्नु परेको थियो ।
सञ्चारकर्मी हुनुको नाताले विमानस्थलमा जे घटना भयो, त्यो एकदमै दुखदायी थियो । भोलिपल्ट नेपाली छापामा एकतर्फी समाचार आए, समाचार एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा फैलियो । त्यसले झन् पीडा थपिदियो । कम्तीमा सम्बन्धित व्यक्तिको भनाइ समेटेर समाचार प्रकाशित भइ दिएको भए सन्तोष लिने ठाउँ रहन्थ्यो । कस्तो पत्रकारिता हो ? अचम्म लाग्यो ।
सम्झदा आफैलाई आत्मग्लानी हुन्छ, एनआरएनएको विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं पुगेको ममा पहिलो गाँसमै ढुंगा लागेको महसुस भयो । यद्यपि निराश थिइन् । विश्व सम्मेलनको समाचार विश्वभर पु-याउने, एनआरएनए अभियानका अगुवासँग आत्मियता बढाउने मेरो मूलभूत उद्देश्य थियो । कत्ति पनि विचलित नभइ म काठमाडौं झरेको भोलिपल्टै आफ्नो काममा लागें ।
केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पुगें । म एकदमै उत्साहित थिएँ । पत्रकार सम्मेलन खासै उत्साहजनक थिएन, किनभने अध्यक्षलगायत एनआरएन पदाधिकारीको उपस्थिति थिएन । सञ्चारकर्मीभन्दा पनि डेलिगेट्सको भीड थियो त्यहाँ । यद्यपि सम्मेलनको सम्पूर्ण विवरण विश्व सामू प्रत्यक्ष प्रशारण हाम्रो टिमले गरेको थियो ।
त्यो पत्रकार सम्मेलन सकिन नपाउँदै अध्यक्षका उम्मेदवार कुल आचार्यको टिमले आयोजना गरेको अर्को पत्रकार सम्मेलनको रिर्पोटिङ गर्न रोयलसिंगे होटल पुगे । त्यहाँबाट पनि हाम्रो टिमले कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको थियो । उक्त कार्यक्रममा हामीले गरेको कामको सबैतिरबाट प्रशंसा भएको थियो ।
कार्यक्रम सकिएपछि हाम्रो टिम भोलिपल्ट आयोजना हुने विश्व सम्मेलनको रिर्पोटिङ कसरी सफलतापूर्वक सम्पन्न गर्ने भनेर योजना बनाउन थाल्यो । हाम्रो टिमका अगुवा शिव भण्डारीकै योजनाअनुसार हामीले कामको बाँडफाँड गरेका थियौं । सोचेअनुसार नै काम भइरहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको एनआरएनए विश्व सम्मेलन भव्य थियो । यतिसम्म त ठीकै थियो, त्यसपछि चियापानबाट सुरु भयो नेतृत्व चयनको राजनीति । हाम्रो टिमले धेरैजनासँग प्रतिकृया लिएर नेतृत्व चयनको माहोललाई अझ व्यापक बनाउने प्रयास गरेको थियो । हामीले डेलिगेटका भावना विश्वभर रहेका नेपालीसमक्ष पु-याउने प्रयास गरेका थियौं ।
यो मिसनमा हामी सफल भयौं भन्ने मलाई लाग्छ । किनभने हाम्रो फेसबुक पेजमा यति धेरै दर्शक आउनुभयो, उहाँहरुले जुन किसिमको प्रतिकृया दिनुभयो, त्यसले हामीलाई सफल बनायो भन्ने लाग्छ । हाम्रो दिनभरिको समय रिर्पोटिङमा बित्यो, एनआरएनले विभिन्न समूह बनाएर गरेको छलफललगायत एनआरएनए अभियान्ताका कुरालाई विश्व सामू पु-याउन भोक तिर्खा नभनी हामी खटिरह्यौं ।
भोलिपल्ट नेतृत्व छनोटको चुनावी प्रकृया सुरु हुने समय तालिका सार्वजनिक भइसकेको थियो । समयमै आइपुग्ने वाचागर्दै हामी राति ९ बजेतिर बास स्थानतिर लाग्यौं । सबै ठीकठाकै थियो, हामीलाई बास स्थान पु-याउने ट्याक्सीमा हाम्रो क्यामरालगायत महत्वपूर्ण सामग्री छुट्यो । त्यो छुटेको समान पाइने हो कि होइन भनेर मलाई रातभर तनाव भयो । जे होला भनेर भोलिपल्ट बिहान पुनः रिर्पोटिङका लागि बौद्धको हायत होटल पुगियो । इमान्दार र अनुशासित रहेछन ती ट्याक्सी चालक हाम्रा सामान त्यही ल्याइदिए उनले । मेरो खुशीको सीमा रहेन ।
हामी पुनः प्रत्यक्ष प्रशारणको काममा लाग्यौ, नेतृत्व छनोटको माहोल नियन्त्रणभन्दा बाहिर जाँदै थियो । हो हल्ला…, आरोप–प्रत्यारोप र हुल्लडबाजले परिस्थिति काबु बाहिर जादै थियो भन्ने कुरा हाम्रा क्यामरामा कैद भएका दृश्यले देखाइरहेको थियो । ती सम्पूर्ण घटना सदृश्य हामीले प्रत्यक्ष प्रशारणमार्फत् विश्वभरि रहेका नेपाली समुदायसमक्ष पु-याइरहेका थियौं ।
त्यस किसिमको महोलले मलाई पनि विस्तारै दिक्क बनाउँदै लग्यो । फितलो व्यवस्थापन, आवश्यकताभन्दा बढी राजनीति, अव्यवस्थित बसोबास र खानपानले मेरो स्वास्थ्यमा समेत असर पुग्न थाल्यो । त्यत्ति हुँदाहँदै पनि म आफ्नो कामप्रति किनचित डगमगाइन् ।

निर्धारित समयमा निर्वाचन भएन । साँझतिर मतदानका लागि लाम बसेका थिए । केही मतदान भएपछि भोटिङ मिसिन बिग्रेको भन्दै निर्वाचन समितिले घण्टौं लाम बसेका डेलिगेट्सलाई जानकारी गरायो ।
त्यसपछि मतदानको समय तालिका भोलिपल्ट लागि सारियो । भोलिपल्ट निर्वाचन त सुरु भयो, त्यससँगै हुने होहल्ला र वादविवादले एनआरएनप्रति धेरैले रोष प्रकट गर्न थाले । चाहिनेभन्दा बढी सुरक्षाकर्मीको उपस्थितिले जनआन्दोलन २०६२/०६३ को झझल्को दिइरहेका थिए ।
निःस्वार्थ एनआरएन डेलिगेट्सहरु विचलित भए ।एनआरएनको विश्व सम्मेलन मेरो पहिलो अनुभव भएकाले त्यो वातावरण देखेर मलाई पनि धेरै नमज्जा लाग्यो । सभ्य र सुपठित भनाउँदाबाट देखिएको व्यवहारले म निराश हुन थालें । सामाजिक संस्थाको नेतृत्व लिन किन यति धेरै मनी र मसल खर्च गरेका होलान भन्ने मलाई लाग्न थाल्यो । त्यत्तिमात्र होइन, यसभन्दा अघिको विश्व सम्मेलनमा पनि यस्तै महोल हुन्थ्यो कि भन्ने अनुमान लगाउन थाल्यो ।
एजेन्डाभन्दा नेतृत्व प्रधान देखिएको एनआरएनको विश्व सम्मेलनमा जे देखियो त्यो सभ्य मानिसबाट हुने आचरण पक्कै थिएन । यी कुरा मबाट मात्र होइन, सम्मेलनलाई नजिकबाट नियालेका सबैले आलोचना गरेको पाइयो । राजनीतिक दलको निर्वाचन जस्तो महोल अन्तिम अवस्थासम्म देखियो । दोस्रो दिन लामबद्ध भएर मतदान भयो । साँझ ६ बजे मतदान सकियो । कुल २३ सय ४४ मत खस्यो । निर्वाचन सम्पन्न भइसकेपछि मत गणनामा पनि त्यस्तै गाइजात्रा देखियो । मत गणना अवधिभर दुई पटक मात्र सूचना उपलब्ध गराइयो । मत गणना कतिबेला सकियो जानकारी पाइएन ।
अझ विजयी उम्मेदवारको नाम र मत संख्या सार्वजनिक गर्न निर्वाचन समितिले यति ढिलो ग-यो कि जसले सञ्चारकर्मीलाई बेवकुफ बनाइराखेका थिए । अचम्म लाग्दो कुरा के थियो भने, निर्वाचन समिति ले औपचारिक सूचना दिनुभन्दा अघिनै केही ब्यक्तिहरु को फेसबूक र संसार माध्यम हरु ले निर्वाचन को नतिजा को समाचार निकालेका थिए भने औपचारिक सूचनाका लागि होटल बाहिर सयौं सञ्चारकर्मी सूचनाका लागि पर्खेर बसेका थिए । अन्त्यमा वडा कार्यालयबाट जारी गरिने सामान्य सूचनाजस्तै चुनावी परिणाम उपलब्ध गराएर निर्वाचन समिति पन्छिएको थियो ।
अध्यक्ष पदमा कुल आचार्यलाई १४७ मतान्तरले पराजित गर्दै कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले सार्वजिनक गरेको मत परिणाम अनुसार कुमार पन्तले १२१७ मत प्राप्त गरे भने आचार्यले जम्मा १०७० मत प्राप्त गरे । सत्तारुढ नेकपाको साथ रहेका उनले सुरुदेखि नै अग्रता बनाइराखेका थिए । निर्वाचन समितिले दिएको रिपोर्ट अनुसार उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भए । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।
एनआरएनको यस्तो गाईजात्रे विश्व सम्मेलन, नाटकीय नेतृत्व छनोट विधि, निर्वाचनका बेला उम्मेदवारले देखाएको मनी र मसलका प्रदर्शन नै दोहो¥याउने हो भने ‘मेरो एनआरएन, मेरो नेपाल’ भन्नुको कुनै तुक छैन् ।






