काठमाडौं- मधेसी मोर्चाले उठाएका मागलगायतका विषयमा छलफल गर्न आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुलुकको राजनीतिक अवस्था, मधेसी मोर्चाका मागलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा सिमांकनका विषयमा मधेसी मोर्चाले राखेका माग र नागरिकता तथा नेपाली सेनामा सामूहिक प्रवेशका विषयमा पनि छलफल हुने छ ।
माघ ९ गतेसम्म वार्ता र संवाद गरेर मधेसी मोर्चासँग सहमति खोज्ने तयारी गरेका प्रमुख दलले मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक परामर्श गरिरहेको बताइएको छ । मधेसी मोर्चाले शीर्ष नेतृत्वमै छलफल गरेर विवाद टुंग्याउनुपर्ने माग गरेको छ ।






